Home समाचार पिसिआरमा बढी रकम असुल्नेसँग धरौटी माग

पिसिआरमा बढी रकम असुल्नेसँग धरौटी माग

by ईलालटिन
0 comment

चितवन  । कोरोना परीक्षणमा नेपाल सरकारले निर्धारण गरेभन्दा बढी शुल्क असुलेका दुई अस्पताललाई जिल्ला प्रशासन कार्यालयले मुद्दा चलाएको छ । यहाँको कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुर र स्टार अस्पताल सानेपालाई कोरोना परीक्षणका क्रममा पिसिआर शुल्क बढी असुलेको भन्दै मुद्दा चलाइएको हो ।प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेका अनुसार शिक्षण अस्पताललाई रु १८ लाख र स्टार अस्पताललाई रु पाँच लाख धरौटी माग गरिएको थियो । ती अस्पतालका प्रतिनिधि धरौटी जम्मा गरी तारेखमा रिहा भएका छन् । शिक्षण अस्पतालका प्रमुख कार्यकारी निर्देशक डा सुप्रभात श्रेष्ठ र स्टार अस्पतालका अध्यक्ष किशोरकुमार महर्जन धरौटी जम्मा गरी संस्थागत तारेखमा रहेको उहाँले जानकारी दिए ।शिक्षण अस्पतालले यहाँ सङ्कलन गरेको नमूना स्टार अस्पताल पठाउने गरेको थियो । सरकारले पिसिआर शुल्क रु दुई हजार तोकेकामा ती अस्पतालले रु तीन हजार शुल्क लिएपछि प्रशासनले कारवाही गरेको हो । ती दुई अस्पतालविरुद्ध यही चैत ४ गते मुद्दा पेश गरिएको थियो । प्रमुख जिल्ला अधिकारी लामिछानेका अनुसार नमूना परीक्षण गरेका आधारमा धरौटी माग गरिएको हो ।

प्रमाणसहितको गुनासोपछि गरिएको प्रारम्भिक अनुसन्धानका क्रममा दोषी देखिएपछि प्रशासन कार्यालयले कारवाही गरेको हो । उनीहरूलाई कालोबजारी तथा केही सामाजिक अपराध र सजाय ऐन, २०३२ अनुसार मुद्दा दर्ता गरेर कारवाही शुरु गरिएको छ । बयानका क्रममा दुवै अस्पतालका सञ्चालकले बढी शुल्क लिएको स्वीकार गरेको प्रशासनले जनाएको छ । उनीहरुलाई मुद्दा पुर्पक्षका लागि थुनछेक आदेशपछि धरौटी निर्धारण गरिएको हो । यसअघि प्रशासनले बढी रकम लिएको भन्दै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र चितवन मेडिकल कलेजसमेतलाई मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अघि बढाएको छ । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com