66
म्याग्दी । म्याग्दीका विभिन्न स्थानमा रहेका तामाखानी जङ्गलमै पुरिएर खेर गइरहेका छन् । जिल्लाका धवलागिरि, मालिका, रघुगङ्गा गाउँपालिका र बेनी नगरपालिकाका विभिन्न ठाउँमा रहेका १७ वटा ठूला तामाका खानीहरु राज्यको झन्झटिलो कानूनी प्रावधान र आधुनिक उपकरणको अभावका कारण सञ्चालनमा आउन नसक्दा वनपाखामै खेर गएका हुन् ।रघुगङ्गा–६ मा पर्ने ठाडाखानी गाउँको सिरानमा पर्ने रुमले भिर, धौलागिरि–५ मल्कबाङको मल्काबाङे भिर र मालिका गाउँपालिकाको ओखरबोटका साथै बेनी–३ को चिनाखेत भिरमा रहेका तामाखानी प्रयोगविहीन हुँदा स्थानीय सरकारले करोडौँ राजस्व गुमाउनुपरेको छ । यहाँका विशाल तामाखानी वर्षौँदेखि अलपत्र अवस्थामा छन् ।एक सय छ वर्षअघि विसं १९७१ सालमा बन्द भएको रुमले भिरको तामाखानी सञ्चालनमा अझैसम्म पनि स्थानीय र प्रदेश सरकारले कुनै चासो नदेखाएको स्थानीयवासीले बताएका छन् । त्यस्तै वर्षौँदेखि प्रयोगविहीन भएका मल्कबाङका तामाखानीहरु पनि पुरिन थालेका छन् । करिब १०० वर्ष पहिला स्थानीयवासीहरुले तिनै खानीबाट तामा निकालेर घरायसी भाँडाबर्तनहरु बनाउने गर्दथे । बाहिरबाट तामाका भाँडाहरु खरिद गर्नु पर्दैनथ्यो । तत्कालीन सरकारले खानी उत्खनन् गर्नेहरुबाट कर लिन थालेपछि खानी बन्द भएका हुन् ।