काठमाडौँ । प्रतिनिधिसभा विघटन बदर गर्न माग गर्दै परेका रिटहरुको सुनुवाईका लागि बनाइएको संवैधानिक इजलासमा न्यायाधीश सपना प्रधान मल्ल परेकी छन्।
न्यायाधीश हरिकृष्ण कार्कीले इजलासमा नबस्ने घोषणा गरेपछि बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले उनको ठाउँमा न्यायाधीश प्रधानलाई ल्याएका हुन्।
सर्वोच्चमा बुधबारदेखि संसद विघटनविरुद्ध परेका रिटको सुनुवाई सुरु हुँदैछ ।
गएको बुधबारदेखि नै यी रिटमाथि सुनुवाई सुरु हुने भनिए पनि तोकिएको संवैधानिक इजलासमा न्यायाधीश हरिकृष्ण कार्कीको सहभागितालाई लिएर आपत्ति जनाइएको थियो। पछि कार्कीले आफू इजलासमा नबस्ने घोषणा गरेपछि यो बुधबार (आज) का लागि पेशी तोकिएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा कानूनी सल्लाहकार रहेको भन्दै संवैधानिक इजलासमा उनको सहभागितामाथि अधिवक्ताहरुले प्रश्न उठाएपछि न्यायाधीश कार्की संवैधानिक इजलासमा नबस्ने घोषणा गरेका थिए।
उनको ठाउँमा न्यायाधीश प्रधानलाई ल्याएसँगै अब प्रधानन्यायाधीश जबरासहित न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी सम्मिलित इजलासमा सुनुवाई हुने तय भएको हो।
संवैधानिक इजलासमा न्यायाधीश प्रधानको आगमन पनि विवादरहित हुने सम्भावना छैन । उनी पहिलो संविधानसभामा तत्कालीन एमालेको तर्फबाट सभासद थिइन्। साभार देशसञ्चार