काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ ले पुस ५ गतेको संसद् विघटनसँग विदेशी शक्तिकेन्द्रको स्वार्थ गाँसिएको बताउँदै मुख्यतः दुई कारण औँल्याएका छन् । ‘पहिलो, पूर्वएमाले र माओवादी केन्द्रबीचको अपवित्र एकता । दोस्रो, विदेशी शक्तिकेन्द्रहरूको हस्तक्षेप । एउटा दलाल पँुजीवादी सत्ताको असफलता, अर्को सरकारी पार्टी र गुटहरूको असफलता । एउटा दलाल पँुजीपति वर्गभित्रको स्वार्थ संघर्ष, अर्को सरकारी पार्टीभित्रका गुटहरूको संघर्ष ।’
यसबाहेक विप्लवका धारणा यस्ता छन्–
तीन विकल्प
यसको निकासबारे राजनीतिक शक्तिले तीन वटा धारणा प्रस्तुत गरेका छन् । पहिलो केपी सरकारलाई फेरेर अरू कुनैको नेतृत्वमा नयाँ सरकार बनाउने, दोस्रो संसदीय व्यवस्थाकै चुनाव गरेर नयाँ सरकार बनाउने, तेस्रो असफल संसदीय व्यवस्थालाई विस्थापित गरेर जनगणतन्त्र या वैज्ञानिक समाजवादको स्थापना गर्ने । हाम्रो विचारमा अगाडिका दुई विकल्प यथास्थितिमै देशलाई घुमाउने गलत धारणा हुन् । तेस्रो विकल्प अर्थात् वैज्ञानिक समाजवाद स्थापना गर्नु नै उत्तम विकल्प हो । देश क्रमशः त्यही दिशामा जान्छ र लानुपर्छ ।
सत्तारुढ नेकपाको फुट
सरकारी नेकपाको फुटले तत्काल देशलाई अस्थिरताको तरंग दिए पनि दीर्घकालीन दृष्टिले देशलाई आमूल परिवर्तन तथा स्थिरतातिर लैजान सघाउ पु¥याउँछ ।
नेपालमा जनता कम्युनिष्ट समर्थक र वैज्ञानिक समाजवादी राज्य व्यवस्थाका पक्षपाती छन् । यो जनमतलाई अवसरवादी, संसद्वादी सरकारी नेकपाले संसदीय व्यवस्थाभित्रै घुमाउने सम्भावना कमजोर भएको छ । संसदीय व्यवस्थाबाट जनताले शान्ति र समृद्धि प्राप्त गर्न सक्दैनन् भन्ने साधारण नागरिकले पनि बुझ्ने गरी स्पष्ट भएको छ । यसले आमूल परिवर्तनतिर जान मद्दत गर्छ ।
आजको जनआस्था साप्ताहिकमा समाचार छ ।