काठमाडौं । खानेपानी तथा सरसफाइमन्त्री मणि थापाले युद्धकालमा तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन नेता बाबुराम भट्टराईलाई मार्न खाल्डो खनेको बताएका छन् ।
उनले प्रचण्डलाई त्यस्तो चिन्तनको, फरक विचार राख्नेलाई देखिनसहने प्रवृत्तिको रहेको बताएका हुन् । “प्रचण्डले बाबुरामलाई हाल्न खाल्डो खनेका थिए । बाबुरामलाई बचाउनेहरू हामी नै हौँ । बाबुरामलाई बचाउनेहरू आज ओलीसँगै छौँ,” उनले भने, “प्रचण्डका लागि ओलीले बालुवाटारमा खाल्डो खनेका थिएनन् ।”
विभाजित नेकपाको ओली समूहले मंगलबार जाजरकोटमा आयोजना गरेको कार्यक्रममा उनले माधवकुमार नेपालमा नगदे चिन्तन रहेको बताए । उनले चुनावमा जाउँ भन्नु प्रतिगामी कदम नरहेको भन्दै अब मुलुक निर्वाचनमा केन्द्रित रहेको बताए ।
पार्टी एकताका लागि ओलीले अन्तिमसम्म प्रयत्न गरेको, खुमलटार गएर प्रचण्डलाई प्रस्ताव फिर्ता लिन आग्रह गरेको बताए ।

उनले प्रचण्ड-नेपाल समूहमा झगडा सुरु भएको पनि बताए । त्यो समूहमा महासचिवमै झगडा सुरु भएको बताउँदै धेरै बिराला भए मुसा नमार्ने उदाहरण दिए । उक्त समूहमा तीन पूर्वप्रधानमन्त्री रहेकाले अब आफू प्रधानमन्त्री बन्छु भन्दै टोपी लगाउन थालसिकेको कटाक्षसमेत गरे ।
उनले ओली समूहको गाडी अगाडि बढेको र प्रचण्ड-नेपाल समूह झगडा नै गरेर बस्ने आकलनसमेत गरे । उनले संसद् विघटन बाध्यात्मक कदम भएको पनि बताए । उनले संसद् पुनःस्थापना कुनै पनि हालतमा नहुने बताए ।
मन्तव्यका क्रममा उनले पूर्वजनमुक्ति सेनाको एउटा समूह ओली नेतृत्वको नेकपामा समाहित हुने बताए ।