दाङ । रुकुम पश्चिम जिल्ला प्रशासनले १३ वटा कार्यालयमा छड्के अनुगमन गर्दा ९८ जना कर्मचारी अनुपस्थित रहेको भेटिएको छ। प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रे सहितको टोलीले बुधबार जिल्लाका संघ र प्रदेश अन्तर्गतका १७ वटा सरकारी कार्यालयको अनुगमन गर्दा १३ वटा कार्यालयका झन्डै एक सयको हाराहारीमा कर्मचारी अनुपस्थित रहेको भेटिएको हो। प्रजिअ गैह्रेले जिल्ला समन्वय समिति, मालपोत, नापी, स्वास्थ्य सेवा, हुलाक, पशुसेवा जस्ता कार्यालयमा छड्के अनुगमन गर्दा ठूलो संख्यामा कर्मचारी अनुपस्थित पाइएको सेतोपाटीलाई बताए।
एकै साथ ६ वटा टिम बनाएर बिहान १० बजेदेखि सवा १० बजेको समयमा छड्के अनुगमन गरिएको प्रजिअ गैह्रेले जानकारी दिए। ‘१७ वटा कार्यालयमा अनुगमन गर्दा १३ वटा कार्यालयका ९८ जना अनुपस्थित पाइयो,’ प्रजिअ गैह्रेले भने ‘ त्यसमध्ये ६ वटा कार्यालयमा कार्यालय प्रमुखसहित अनुपस्थित भएको फेला पर्यो ।’ठूलो संख्यामा कर्मचारी अनुपस्थित रहेको पाइएपछि जिल्ला प्रशासन कार्यालयले अनुपस्थित कर्मचारी र कार्यालय प्रमुख समेतलाई तीन दिनभित्र स्पष्टिकरण दिन पत्राचार गरेको छ।
‘अनुपस्थित हुने कार्यालय र ती कार्यालयका प्रमुखलाई लिखित रूपमा स्पष्टिकरण पेश गर्न पत्राचार भइसकेको छ,’ प्रजिअ गैह्रेले भने, ‘चित्तबुझ्दो स्पष्टिकरण नआए ती कर्मचारीलाई विभागीय कारबाही हुन्छ।’तीन दिनभित्र स्पष्टिकरण सोध्न पत्राचार गरिएको भए पनि भौगोलिक जटिलताका कारण पत्र आउन भने हप्ता दिन लाग्ने सक्ने हुँदा एक हप्तासम्म प्रशासनले जवाफको प्रतीक्षा गर्ने प्रजिअ गैह्रेले बताए। अनुगमनपछि धेरै कर्मचारीले फोन गरेर आफू फिल्डमा गएको, मौखिक बिदामा बसेको, बच्चालाई विद्यालय पुर्याएर फर्किंदा ढिला भएको जस्ता कुरा गरेर जोगिन खोजिरहेको गैह्रेले बताए।
त्यस्तै, स्वास्थ्यका कर्मचारीले कार्यालय गए पनि हाजिरी रजिष्टारमा हाजिर नै नगरेको अवस्था फेला परेको पनि गैह्रेले जानकारी दिए। ‘उहाँहरूले ओभर समय काम गरेको भत्ता नपाएपछि कार्यालयमा हाजिर नै नगर्ने गरेको भन्ने मैले बुझेको छु,’ प्रजिअ गैह्रेले भने, ‘स्पष्टिकरण कस्तो आउँछ हेरौं, अन्यथा उहाँहरूको हकमा पनि अनुसन्धानपछि विभागीय कारबाही हुन्छ।’ सरकारी सेवा चुस्त दुरुस्त राख्न र सुशासन कायम गर्ने सवालमा कर्मचारीले लापरबाही गर्न नपाउने गैह्रेले बताए। सेतोपाटी ।