काठमाण्डौँ । कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय हेटौँडामा रु ९१ लाख बराबरको गहुँ बीउ विक्री नभई थन्किएको छ । कार्यालयका अनुसार चालु आर्थिक वर्ष ०७७/०७८ मा एक हजार ४०८ मेट्रिक टन बिक्री गरिएको भए पनि हाल करिब १४० मेट्रिक टन गहुँको बीउ बिक्री नभई गोदाममा थन्किएको छ । पछिल्लो पटक अन्य बीउ बिजन उत्पादक कम्पनीसँग मूल्यमा प्रतिस्पर्धा गर्न नसक्दा कार्यालयमा हाल १४० मेट्रिक टन गहुँको बीउ बिक्री नभएर थन्किएको कार्यालयका सूचना अधिकारी गणेश जोशीले जानकारी दिए । सो बिक्री नभएको गहुँको बीउको अनुमानित मूल्य करिब रु ९१ लाख रहेको छ । कार्यालयले गहुँको बीउ प्रतिकेजी रु ६५ मा सहकारी संस्था र निजी बीउबिजन बिक्री गर्ने आपूर्तिकर्ताहरुलाई बिक्री वितरण गर्दै आएको थियो । पछिल्लो पटक निजी बीउ बिक्री उत्पादक कम्पनीले प्रतिकेजी रु ५५ सम्म पनि बिक्री गरेपछि कृषि सामग्री कम्पनीमा मौज्दात गहुँका बीउ बिक्री नभएको कार्यालयको जिकिर छ ।