Home समाचार घरै अगाडिको जग्गा दलालको चंगुलमा परेपछि सुकुम्बासी बनेका ‘बख्खे साहु’

घरै अगाडिको जग्गा दलालको चंगुलमा परेपछि सुकुम्बासी बनेका ‘बख्खे साहु’

by ईलालटिन
0 comment

चितवन । विकट पहाडी क्षेत्रको गाउँमा बसोबास भए पनि आइतमान घर्तीको परिवारलाई खेतीयोग्य जमिनको कमी थिएन। साविकको शक्तिखोर गाविस-४(हाल कालिका नगरपालिका-८) मा पर्ने बुङखोलामा बस्ने उनको एक विघा ४ कट्ठा २.५ धुर नम्बरी जग्गा नै थियो। ऐलानी त कति हो कति, उनैलाई एकिन थिएन। बाबुको पालादेखि नै धेरै सम्पत्ति भएका कारण गाउँलेहरू आइतमानलाई ‘बख्खे साहु’ भनेर बोलाउँथे।गाउँका अधिकांश पुराना घर्तीहरूले आर्थिक सहयोगको लोभमा नागरिकतामा चेपाङ थर लेखाउँदा पनि उनलाई यसले लोभ्याएन। बाबुको सम्पत्ति नै उनलाई पुगिसरी थियो। गाउँमै परिवारसँग रमाइरहेका बख्खे साहुले आफ्नो सम्पत्तिमा बैरीको आँखा लागेको भने मेसै पाएनन्। उनी बाबुले छाडेर गएको सम्पत्ति स्याहार्दै थिए, उता त्यही सम्पत्ति अर्कैले आफ्नो बनाइसकेछ। यो कुरो थाहा पाउन उनलाई नौ वर्ष लाग्यो। ४६ वर्षेका बख्खे साहु अहिले आफ्नै जमिनमा सुकुम्बासी बनेर बसिरहेछन्। बाबुको नामको जमिनको मुख्य हकदार जेठो छोराको हैसियतमा आफू रहेको भन्दै उनी अदालत धाउन थालेको एक वर्ष बढी भयो।

यसरी ठगिए आइतमान 

बाबु जगसिंहको मृत्यु भएको तीस वर्ष बढी भयो। गाउँलेले बख्खे साहु भने पनि उनीसँग आफ्नो नामको सम्पत्ति भने थिएन। बाबुले छाडेर गएको सम्पत्तिसमेत आफ्नो नाममा पास गरेका थिएनन्। १७ वर्षअघि उनकी आमा गुर्धलीमाया घर्ती पनि बितिन्। आमाको अन्त्येष्टि गर्दा आइतमानको नागरिकता पनि पोलिएछ।‘हाम्रो चलनमा आमा बित्दा उहाँका सामान पनि सँगै जलाउने चलन छ, उहाँले प्रयोग गरेका सबै सामान जलायौं। पछि पो थाहा भयो मेरो नागरिकता त जलाएको झोलामा पो परेछ,’ आइतमानले सुनाए।उनी नयाँ नागरिकता बनाउन सदरमुकाम भरतपुर पुगे। जिल्ला प्रशासनले लालपुर्जा नभई हुँदैन भनेर फर्काइदियो।  अर्को दिन आइतमान घरबाट लालपुर्जा बोकेर झरे।‘यो पटक भने बजारमा चिनेजानेको एक व्यक्ति भेट भए, सबै कुरा सुनेपछि लालपुर्जा दिनु म सबै काम गरेर ल्याइदिन्छु भनेपछि छाडेर घर फर्किएँ,’ उनले भने, ‘तर उसले न मलाई नागरिकता बनाएर दियो, न त लालपुर्जा।’

वर्षौंसम्म पनि कागजपत्र हात नपरेपछि आइतमान फेरि एक्लै प्रशासन कार्यालय पुगे। यसपटक भने उनीसँग लालपुर्जा मागिएन। २०७६ सालको वैशाखमा उनले सजिलैसँगै नागरिकता हात पारे।अब उनको काम बाबुको नाममा रहेको जग्गालाई आफ्नो नाममा सार्ने थियो। जब लालपुर्जा बोकेर मालपोत कार्यालय पुगे आइतमान छाँगाबाट खसेजस्तो भए। बाबु जगसिंहको नामको जमिन त उनले चिन्दै नचिनेकी सानुमाया प्रजा हुँदै चन्द्रकुमार श्रेष्ठ, बाबुराम श्रेष्ठ र शोभा घिमिरेको नाममा पुगिसकेको रहेछ।अत्तालिएर गाउँ फर्किएका उनलाई स्थानीय केही व्यक्तिले अदालतसम्म पुग्ने साहस जुटाइदिए। तर सर्त राखे- जग्गा फिर्ता आएपछि ८ कट्ठा जग्गा हामीलाई दिनुपर्छ। सहरलाई नचिनेका आइतमानसामू यो प्रस्ताव स्वीकार्नुको विकल्प नै थिएन। उनले चितवन जिल्ला अदालतमा सानुमाया प्रजाविरूद्ध राजीनामा लिखत दर्ता बदर गर्न माग गरेर अभियोगपत्र दर्ता गराएका छन्। यसको फैसला अझै भएको छैन। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com