नेपालीहरूको ‘सपनाको देश’ मानिने अमेरिकाको ४६ औं राष्ट्रपतिमा जो बाइडेनको विजयीसँगै नेपाली समुदाय खुशी छन्।
चुनावी क्याम्पेनिङमा पनि नेपालीहरुले बाइडेन र कमला ह्यारिसलाई खुलेरै भोट मागे।
जिपी कोइराला फाउन्डेसन अमेरिकाका संयोजक सोमनाथ घिमिरेले बाइडेनको समर्थनमा पटक पटक चुनावी क्याम्पेनिङ चलाइदिए। लोकतन्त्र र उदार अर्थनीतिलाई अवलम्बन गर्न रुचाउने बाइडेनप्रति धेरै नेपालीको भावना जोडिएको पाइयो।
यद्यपि, बाइडेनको पक्षमा नेपालीहरू उभिनुको पछाडि डोनाल्ड ट्रम्पको अध्यागमन नीति पनि प्रमुख कारक बनेको छ।
जाति र रंगभेदी दम्भमा रमाउने, आप्रवासीलाई ‘सिटहोल’ मुलुकबाट अमेरिकी जनताको भाग खोस्न आएका भनेर आरोप मात्र लगाउनेदेखि डिभी परेर आउनेलाई उस्तैखाले व्यवहार ट्रम्पले गरिदिए।
जसका कारण बहुसंख्यक नेपालीले ट्रम्पको नीति रुचाएनन्। कानूनी अडचन सहनुपर्ने र देश निकालासम्म हुनुपर्ने अवस्था आउने भन्दै धेरै आप्रवासीहरु ट्रम्पसँग झस्किएका थिए।
एनआरएनए अमेरिकाकी महिला संयोजक दिक्षा बस्नेतले अमेरिकी चुनावी परिणामले विश्व राजनीतिलाई फेरी उदार लोकतन्त्र, सहकार्य र बहुपक्षीयतातर्फ डोर्याउँछ भन्नेमा विश्वास पलाएको अभिव्यक्ति दिएकी छिन्।
अमेरिकामा बस्दै आएका तारा बरालले एक लेखमार्फत् भनेका छन्, ‘बाइडेन कार्यकाल ट्रम्पकोजस्तो अराजक, अवैज्ञानिक र गतिछाडा हुनेछैन, मूलतः नेपाली र आमअमेरिकी समाजले अपेक्षा गरेको पनि त्यही हो, बाइडेन आउँदैमा यहाँका नेपालीलाई विशेष चिट्ठा हात लाग्ने हैन।’
तर, कम्तिमा पनि आप्रवासी हुनुको पीडामा मल्हम लाग्नेछ। टिपिएस र ग्रीनकार्डको लडाइ सजिलो हुनेछ। अब सिटहोल र ट्र्यासक्यानजस्तो गाली सुन्नु पर्नेछैन। विगत चारवर्षमा धर्मराएको आत्मसम्मान केही बलियो हुनेछ।
त्यतिमात्र होइन, बाइडेनले चुनावी अभियानका क्रममा अमेरिकी संसदले सन् १९८६ देखि पारित गर्न नसकेको अध्यागमन सुधारको बृहत बिल अगाडि ल्याउने बताएका छन्।
सन् २०१३ मा यस्तै बिल पारित गर्ने प्रयास असफल भएको थियो। डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालमा चार सयभन्दा धेरै कार्यकारी आदेशहरू जारी गरेका छन्, बाइडेनले ती सबै उल्टाउने अपेक्षा गरिएको छ।
अमेरिकामा रहेका ११ मिलियन कागजपत्रविहीन अमेरिकी नागरिकताको बाटोमा लैजान अध्यागमन सुधारको योजना ल्याउने बाइडेनको योजना रहेको छ।
बाइडेन अहिले अमेरिकामा कैयन आप्रवासीहरूका आशाका केन्द्र बनेका छन्। किनभने अध्यागमन नीति केही लचिलो बनाएर धेरैलाई गुन लगाउने अपेक्षा गरिएको छ। नेपाली पब्लिक ।