काठमाडौँ । ललितपुर इमाडोलकी एक स्वास्थ्यकर्मी तीन महिनाअघि नै कोरोना संक्रमणमुक्त भइन् तर विभेदमुक्त भने हुन सकेकी छैनन् । किस्ट अस्पतालको आकस्मिक कक्षमा खटिँदा उनी संक्रमित भएपछि घरभेटीले कोठा छिर्न दिएनन् ।
‘१४ दिनसम्म अस्पतालकै क्याबिनमा बसें, पीसीआर रिपोर्ट नेगेटिभ आएपछि घर फर्किंदा घरभेटीले कोठा सरिदिनुपर्यो भन्न थाले,’ उनले भनिन्, ‘अस्पतालबाट घर आउँदाजाँदा छिमेकीले कर्के नजरले हेर्थे, त्यसपछि मलाई नै त्यो ठाउँमा बस्न मन लागेन ।’ स्वास्थ्यकर्मी भनेपछि नयाँ कोठा पाउन समस्या भएको र होस्टेलमा पनि ठाउँ नपाएको उनले बताइन् । कोरोना संक्रमणका कारण शारीरिक दुःखसँग त उनी सजिलै लडिन् तर संक्रमित भएकै कारण छिमेकी र साथीभाइले गर्ने व्यवहारसँग कहिलेसम्म लड्नुपर्ने हो उनलाई थाहा छैन ।
कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आए विभेद खेप्नुपर्ने डरका कारण सामाजिक संस्थामा कार्यरत काठमाडौंकी एक युवतीले लक्षण देखिए पनि परीक्षण गराएकी छैनन् । ‘परीक्षण गरे पनि औषधि केही छैन, यसै निको हुने त हो, बेकारमा किन जोखिम मोल्ने ? एक रात ज्वरो आयो, बास्ना थाहा पाइनँ,’ उनले भनिन्, ‘पीसीआर गर्दा कोरोना रै’छ भन्ने थाहा भयो भने घर बस्नुपर्छ । छिमेकीले सोध्छन् । अरू संक्रमितमाथि दुर्व्यवहार भएको देखेरै मलाई परीक्षण गर्न मन लागेन ।’
नेपालमा कोरोना महामारीको सुरुवाती समयमा संक्रमितमाथि जति विभेद हुन्थ्यो अहिले कम छ । संक्रमितलाई घर छिर्न नदिने, घरमा ताल्चा लगाइदिने र लाञ्छना लगाउने जस्ता विभेद भएको अहिले सुनिँदैन । रोगको प्रकृतिअनुसार संक्रमितमाथि अपेक्षित रूपमा भेदभाव घट्न नसकेको विशेषज्ञ बताउँछन् । कोरोना संक्रमणको ग्राफ ओरालो लाग्न नसक्नुका धेरै कारणमध्ये सामाजिक गलत धारणा र व्यवहारलाई पनि प्रमुख मान्छन्, जनस्वास्थ्यविद् डा. शरद वन्त । संक्रमित भइहाले अरूले के सोच्ला या दुर्व्यवहार गर्ला भन्ने त्रासले केही मानिसले परीक्षण नगर्ने, रिपोर्ट पोजिटिभ आए पनि लुकाउने, क्वारेन्टाइन नबस्ने गरेको उनले बताए ।
