भुवन दाहाल- अध्यक्ष, नेपाल वैंकर्स एसोसिएशन
भोलीदेखि निषेधाज्ञा शुरु हुंदैछ, वैंकका केही शाखाहरु खोल्ने निर्णय गरिएको कुरा सार्वजनिक भएको छ, कसरी खोल्दै हुनुहुन्छ ?
सिमित कर्मचारीहरु राखेर केही वैंकहरु खोल्ने कुरा भएको छ । प्रशासन र नेपाल राष्ट्र वैंकको निर्णय अनुसार नै सुरक्षाका सम्पूर्ण उपायहरु अपनाएर हामीले तोकिएका वैंकका शाखाहरु खोल्ने निर्णय गरेका हौं ।
निषेधाज्ञा कडा रुपमा लागू गर्ने, अत्यावश्यक सेवा वाहेक कोही पनि मानिसहरुलाई बाहिर निस्कन नदिने भन्ने कुरा आएको छ । वैंकका कर्मचारीहरुको आवात जावतको व्यवस्था कसरी गर्नुभएको छ ?
केही निश्चित कर्मचारीहरुलाई सम्वन्धित वैंकको पासको आधारमा अफिस आउन जान दिने भन्ने कुरा भएको छ । हामीले त्यहीअनुसार आवश्यक कर्मचारीहरु मात्र वैंकमा आउने गरि व्यवस्था मिलाएका छौं । सबै शाखा खोलिदैन, तोकिएका निश्चित शाखाका निश्चित कर्मचारी मात्र वैंकमा आएर काम गर्छन् ।
यो अवधिमा वैंकमा के के काम हुन्छ ?
वैंकमा धेरै कामहरु बन्द नै हुन्छन् । कतिपय मानिसहरु अस्पतालमा उपचार गराइरहेका हुन्छन्, त्यस्ता मान्छेहरुलाई पैसाको आवश्यकता पर्छ । खास गरि त्यस्ता मान्छेहरुलाई लक्षित गरेर वैंकका शाखाहरु खोल्न लागिएको हो । पैसा निकाल्नको लागि एटिएमहरु पनि संचालनमा रहेका हुन्छन् ।
त्यसवाहेक एलसीको काम पनि हुन्छ । विदेशबाट औषधि मगाउन पनि एलसी खोल्नु पर्छ । यदि हामीले त्यो सेवा नदिए औषधि आयात हुन समेत नसक्ने अवस्था हुन सक्छ । त्यो स्थिति नआओस् भनेर हामीले एलसी खोल्ने सेवालाई निरन्तरता दिन लागेका हौं । त्यो वाहेक अरु सबै सेवाहरु बन्द हुन्छ ।
कर्जाको लागि अनलाइन रुपमा काम गर्ने व्यवस्था गर्न सकिन्थ्यो नी, होइन ?
अहिलेलाई त्यो काम गरिएको छैन । निषेधाज्ञाको अवधिमा कर्जासंग सम्वन्धित कुनै पनि काम हुंदैन ।
वैंकहरु वन्द हुने काठमाण्डौ उपत्यकामा मात्रै हो कि देशभरि नै हो ?
होइन, अहिले हामीले गरेको निर्णय काठमाण्डौ उपत्यकाको लागि मात्र हो । अन्यत्र लकडाउन वा निषेधाज्ञाको अवस्था र स्थानीय प्रशासनसंगको समन्वयमा स्थानीय अवस्था अनुसार गर्ने निर्णय भएको छ । लकडाउन वा निषेधाज्ञा नभएको ठाउंमा वैंकका सेवाहरु नियमित रुपमा संचालन हुन्छन् ।
जनतापाटी डटकमबाट