रुस । अमेरिकाको राष्ट्रिय सुरक्षा एजेन्सीका गोप्य दस्तावेज सार्वजनिक गरेर चर्चामा आएका एडवर्ड स्नोडनले रूसको नागरिकता लिने भएका छन्।अमेरिकी नागरिक रहेका स्नोडनले आफू र पत्नीले रूसी नागरिकताका लागि आवेदन दिएको ट्विटमार्फत जानकारी गराएका हुन्।केही साता अगाडिमात्र उनलाई रूसले स्थायी बसोबासको अनुमति दिएको थियो।
अमेरिकी जासुसी संस्था सिआइएका लागि काम गरेका स्नोडन अमेरिकी खुफिया निकायले लाखौं अमेरिकी नागरिकको निगरानी गर्ने गरेको देखाउने दस्तावेजहरू सन् २०१३ मा सार्वजनिक गरेपछि चर्चामा आएका थिए। दस्तावेज लिक गरेपछि सुरूमा हङकङ गएका उनी त्यसपछि रसिया पुगेका थिए। रूस पुगेकाको उनको जाँचका क्रममा अमेरिकी पासपोर्ट रद्ध गरिएको पाइएपछि करिब एक महिनासम्म विमानस्थलमा बस्नुपरेको थियो।
पछि रूसले उनलाई शरण लिनका लागि योग्य भन्दै एक वर्षको अस्थायी बसोबासको अनुमति दिएको थियो। त्यसपछि उनको सो अनुमति पटकपटक थपिदैं आइएको थियो।यसै वर्षमात्र रूसले उनलाई स्थायी बसोबसको अनुमति दिएको थियो।रूसी नागरिकता लिन लागेका स्नोडनले आफ्नो र पत्नीको अमेरिकी नागरिकतालाई कायमै राख्ने बताएका छन्।उनले आफू घर फर्किने दिनको पर्खाइ रहेको बताए। रूसले पछिल्लो समय दोहोरो नागरिकता दिन सुरू गरेको छ।
‘वर्षौसम्म आफ्ना बाबुआमासँग अलग बसेपछि पत्नी र छोरासँग अलग हुने मेरो कुनै मनशाय छैन। यसैले गर्दा महामारी र बन्द सीमाको यो समयमा हामीले दोहोरो अमेरिकी र रूसी नागरिकताका लागि आवेदन गरेका छौं’, ट्विट गर्दै स्नोडनले भनेका छन्। चार दिन अगाडिमात्र स्नोडनकी पत्नी लिन्डसीले ट्विटमार्फत तस्बीर सार्वजनिक गर्दै आफू गर्भवती भएको सार्वजनिक गरेकी थिइन्। सेतोपाटी ।