बुटवल । सुत्केरी बेथा लागेर लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी महिलाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको छ।सुत्केरी बेथा लागेर भर्ना भएकी गुल्मी मदाने गाउँपालिका ३ भुजुङ्गेकी ३० वर्षीया गीता पुरीको बिहीबार साँझ गर्भको शिशुसहित मृत्यु भएको हो। उनी सुत्केरी बेथा लागेर बिहीबार दिउँसो लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी थिइन्।
मृतक गीताका देवर युद्ध पुरीले अस्पतालको लापरबाहीले भाउजू र बच्चा दुवैको ज्यान गएको बताए। अस्पताल भर्ना भएपछि चेक गर्दा नर्मल डेलिभरी हुन्छ भनिए पनि पछि एकाएक आमा र बच्चाको ज्यान गएको उनले बताए। पुरीका अनुसार चिकित्सकले दिउँसो ४ बजे चेक गर्दा बच्चा र आमा दुवैको अवस्था सामान्य रहेको बताए पनि साँझ ७ बजे पेटभित्रै बच्चाको मृत्यु भएको बताएका थिए। त्यसको २ घण्टापछि आमाको पनि मृत्यु भएको चिकित्सकले आफन्तलाई जानकारी गराएका थिए।
मृतक गीताले डा. अनुपा थापासँग नियमित गर्भ परीक्षण गर्दै आएकी थिइन्। चिकित्सकले गीतालाई कात्तिक ८ गते सुत्केरी हुने मिति तोके पनि चिकित्सककै सल्लाह बमोजिम १३ गते अस्पतालमा भर्ना भएको आफन्तले बताएका छन्। यसबीचमा पनि गीता चिकित्सक थापासँग नियमित सम्पर्कमा रहेको परिवारले बताए।
अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले महिलालाइ सुत्केरी बेथा लगाउने औषधि दिएको नर्मल डेलिभरी हुने देखेर केहीबेर छाडिएको बताए। तर ५ बजेपछि महिलामा अचानक श्वासप्रश्वासमा समस्या देखिएको र अपरेसन गरेर बच्चा निकाल्ने तयारी गर्दैगर्दा मृत्यु भएको उनले बताए। तर मृतकका आफन्तले भने अस्पताल भर्ना भएपछि आमा र बच्चा दुवैको मृत्यु हुनुमा अस्पतालको गम्भीर लापरबाही भएको आरोप लगाएका छन्।

मृतकका आफन्तले घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग समेत गरेका छन्। अहिले मृतकको शव अस्पतालभित्रै छ। मृतकका आफन्तले शुक्रबार बिहान अस्पतालमा केहीबेर प्रदर्शन समेत गरेका थिए।अहिले अस्पताल प्रशासन र मृतकका आफन्तबीच अस्पतालमा छलफल चलिरहेको छ। अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर नेत्र रानाले भने, ‘अस्पतालमा जुन घटना भयो त्यो दु:खद हो। अहिले घटनाबारे मृतककाआफन्तसँगछलफल चलिरहेको छ।’ सेतोपाटी ।