ऋचा लुइँटेल
दैनिकी सावधानीपूर्वक चलिरहेको थियो असोज तेस्रो साता सुरुमा अचानक श्रीमानलाई जिउ दुख्न थाल्यो । गर्मी बेस्सरी भयो, खलखली पसिनाले जिउ नुहाएजस्तो भयो । जिउ सिरिङ सिरिङ भयो, हनहनी ज्वरो आयो। ज्वरो नाप्दा १०१-१०२ देखियो करङ हाड जोर्नी बेस्सरी दुख्यो । कहिले टाउको दुखेजस्तो, कहिले पेट दुखेजस्तो अनुभव भैरह्यो ।
दिनमा तीन चार पटक पखाला चल्यो, सिटामोल खाँदा पनि ज्वरो कम भएन । त्यही लक्षण दोश्रो दिनदेखि मलाई पनि सुरु भयो । म सँगै भदैनी पनि ज्वरोले निस्लोट थिई, जिउ जता छोयो उतै दुखेजस्तो अनुभव भैरह्यो । कोरोनाको चौतर्फी कोलाहल थियो, त्यसैले ज्वरो आउन थालेको चौथो दिन हामीले पनि पीसीआर जाँच गरायौं। तीन दिनपछि आएको रिपोर्टले हामीलाई पनि संक्रमणले छोएको पुष्टि गर्यो ।
मेरा श्रीमान र मेरी भदैनी संक्रमित हुँदा नाबालक दुई छोरालाई कुनै लक्षण थिएन । त्यसैले हामीले बच्चालाई अलग राखेर आफू भने घरमै बस्ने निर्णय गर्यौं । डा. रोमा बोराले सम्बन्धित डाक्टरसँग छलफल गरेर नियमित रुपमा हामीलाई सहयोग गरिरहनु भएको थियो । दिनेले त हज्जारौं सल्लाह दिनुभयो तर हामीले आफूलाई चाहिने मात्र लियौ । कोरोना संक्रमण भएको एघारौं दिनसम्म आइपुग्दा म लगभग ठिक भएको अनुभव गरिरहेकी थिएँ । बरु, श्रीमानको खोकी निरन्तर जारी थियो ।
एघारौं दिन घटस्थापनाको दिन थियो । मनले मानेन र नुहाएर घरको मन्दिरमा बत्ती बालेँ । पूजा गरेँ, जमरा राखेँ । मन एकदम हलुका भयो तर टाउको एकदम भारी भयो । टाउको दुख्न थालेपछि बेलाबेला बान्ता र डायरिया सुरु भयो र भइ नै रह्यो । टाउको दुखेपछि बान्ता हुँदा पहिला ठिक हुन्थ्यो तर त्यो दिन झन बढ्यो । पाँच बजेपछि त म ट्वाइलेट छोड्नै नसक्ने भएँ फेरि श्वासप्रश्वासमा समेत समस्या हुन थाल्यो । श्रीमान अतालिनु भएछ र प्रदेश सांसद दिदी कृष्णा केसी ‘नमूना’लाई फोन गर्नुभएछ । दिदीले तुरुन्तै एम्बुलेन्स पठाउनु भएछ र मलाई नेपालगञ्जको भेरी अस्पताल भर्ना गरियो । अस्पताल पुगेर औषधि सुरु गरेको केही समयपछि मात्र मैले आफ्नो स्थितिका बारे थाहा पाएकी थिएँ ।

मैले आफ्नोबारे केही सोच्न सकिनँ, जब मेरो बेडनजिकै एकजना बिरामीलाई प्रश्वासप्रश्वासमा समस्या भएर छट्पटीमा देखेँ । भेरी अस्पतालमा बनेको कोभिड वार्डका जुनसुकै बेड पनि भेन्टिलेटर बनाउन सकिने व्यवस्था रहेछ । सामानहरु सबै ट्रलीमा भएपछि ती बिरामी सुतेकै बेड भेन्टिलेटरमा तुरुन्तै परिणत भयो ।
दुईघण्टा अथक मेहनत गरे, डाक्टर र नर्सले । न ओखतीले जोगाउन सक्यो, न ईश्वरको चमत्कार भयो । न डाक्टर नर्स साक्षात भगवान बनेर उनको जीवन जोगाउन सकेँ । कोरोनाबाट दुःखदायी मृत्युको प्रत्यक्षदर्शी बन्नुपर्दा म विचलित भइरहेकी थिएँ । आँखा चिम्म गर्थे र आफ्ना नाबालक छोरा सम्झिन्थेँ । छोराहरुले गर्ने माया सम्झिन्थेँ । छोराहरुकै लागि भएपनि मैले हिम्मत हार्नुहुँदैन भन्ने लाग्थ्यो।
मेरो बेडछेउका अर्का एकजना बिरामी थर्थरी काँप्न थाले । उनका आँखाबाट आँसु बग्न थाले । ‘दाइ आँखा बन्द गरेर सुत्नुस्, भगवानको अघि कसैको जोर चल्दैन । आफूलाई जोगाउनुस’ यति भन्ने हिम्मत ममा कसरी आयो म आफैँ अचम्म छु । उनले दुधे बालकले जस्तो मेरो कुरा मानेर आँखा छोपेर सुते । तर म भने निदाउन सकिनँ । अर्को बेडमा सहायक क्याम्पस प्रमुख डोलराज भण्डारी सर हुनुहुन्थ्यो, उहाँ पनि बेस्सरी अत्तालिनुभयो । म डिस्चार्ज भएको अर्को दिन उहाँ पनि बित्नुभएछ ।
मैले पहिलो पटक मृत्युलाई यति नजिकबाट देखेँ । लाग्यो, बाँच्न भन्दा मर्न पो गाह्रो रहेछ । गाडीको टायर पन्चर भए जसरी प्राण जाँदो रहेछ । बाँच्न त सजिलो रहेछ, हामी आफैँले अप्ठ्यारो बनाइरहेका रहेछौं । ती बिरामीलाई बचाउन भेरीका डाक्टर नर्सहरुले गरेको मेहनत देखेर म अब्यक्त भए । ती डाक्टर नर्सहरुको समर्पण देखेर लाग्यो, नर्स हुनु भनेको सामान्य कुरा हुँदै होइन रहेछ।
कोरोनाका कारण राती ३ बजेतिर निधन भएका बर्दियाका ४२ बर्षीय ती पुरुषको मृत शरीर बिहान नौ बजेसम्म मेरै बेडको नजिक थियो । अलि अघिसम्म बाँच्न संघर्ष गरिरहेको एकजना पुरुष एक छिनपछि लास बनिसकेको थियो रातभरी मैले उनको लास हेर्दिन भन्दा पनि हेरिरहनुपर्यो । जति आँखा चिम्लिन खोज्छु, त्यति नै मृत शरीर हेर्न म बाध्य थिएँ ।
प्राण गएपछि तुरुन्तै लासको व्यवस्थापन गर्ने व्यवस्था नहुँदो रहेछ । बिहान नौ बजे पीपीई सेट लगाएका सेनिटाइजर सेट बोकेर दुईजना अस्पताल स्टाफहरु कोभिड वार्डमा पसेर शवलाई सेनिटाइज गरेर ब्यागमा राखे र स्टेचरमा राखेर बाहिर निकाले । १२ घण्टामा मलाई थाहा भएन मर्ने व्यक्तिका आफन्तको थिए ? कहाँ थिए ? बेडको छेउमा थुप्रै सामानहरु असरल्ल थिए । उठाउने कोहि थिएन । पछि सफाई कर्मचारी आएर ती सामान उठाएर लगे ।
बिहान राति आँखा चिम्लेर सुत्न भनेका चौधरी दाइले बिहान भने, ‘बहिनी मलाई तपाईंले राति बचाउनुभयो । तपाईंले त्यति नभनेको भए मैले पनि हिम्मत हारिसकेको थिएँ ।’
बिहान मृतकको लास उठाइसकेपछी स्थिति केही सामान्य भयो । आँखा चिम्लेर राम्रा कुरा मात्रै हेर्छु सोच्छु भन्ने लाग्यो । तर, आँखामा त्यही छट्पटाउँदै बितेका व्यक्ति र रातभर एउटै कोठामा राखिएको शव आइरह्यो ।
राति आँखा चिम्लेर सुत्न भनेका चौधरी दाइ कोरोना पोजेटिभ भएको १० दिन भएको रहेछ । उनकी श्रीमती अहोरात्र उनको सेवा गरिरहेकी रहिछिन । मलाई लाग्यो श्रीमती पनि संक्रमित भएर श्रीमानको सेवामा छिन तर होइन रहेछ । आफू संक्रमित हुन्छु भन्ने रत्तिभर चिन्ता नगरेर सावधानी अपनाएर श्रीमानको सेवामा दत्तचित्त भएको देख्दा एक किसिमको ऊर्जा मिलिरहेको थियो । बिरामीको लागि आएको खाना, खाजा होस् वा फलफूल प्रायः सबैले उनलाई पनि दिन्थे । ‘हामीसँग पैसा छैन । बेरोजगार भएको आठ महिना भयो । एउटा रिक्सा थियो, लकडाउनमा त्यो रिक्सा पनि बेच्नुपर्यो,’ उनले भने ।
मेडिकल कलेजमा १० दिन बसेपछि उनलाई कोरोना देखिएछ र भेरीमा सारिएछ । श्रीमानले हाछ्यूँ गर्दा पनि श्रीमती जुरुक्क उठ्थिन् । उठनै नसक्ने, पिसाब फेर्न समेत जान नसक्ने बिरामी श्रीमतीको सेवा र माया पाएर १० औ दिनमा अस्पतालबाट डिस्चार्ज भएका थिए ।
धेरै बिरामी लावारिस थिए तर केही धेरै भाग्यमानी बिरामी पनि देखिए । जिभिएन कलेज नेपालगन्जमा कक्षा १२ मा पढ्ने गौरव नेपाल हजुरबुवालाई कोरोना पोजेटिभ देखिएपछि कोभिड वार्डमा हजुरबुवाको सेवामा अहोरात्र खटिरहेका थिए । उनी कोरोना संक्रमित होइनन् । न त उनले संक्रमण सर्ला भन्ने चिन्ताले हजुरबुबाको सेवामा कुनै कमी हुन दिए ।
प्रेरणा लिनुपर्ने कुरा त के छ भने उनले हजुरबुबाको छेउमा अर्का एकजना वृद्ध थिए । जो उठेर बाथरुमसम्म जान सक्दैनथे । गौरबले उनको पनि सेवा गरिरहेका थिए । आजको पुस्तामा देखिएको यो लगनशीलता, सेवा र समर्पण देखेर मेरो हृदय रमायो । सन्तान ठूलो होइन, असल बनाउन सके अभरमा सबैभन्दा ठूलो भर हुने रहेछन् । ती उपकारी र परोपकारी मान्छेको कर्मले मलाई मात्रै होइन, धेरैलाई प्रेरित गरिरहेको थियो । डिस्चार्ज हुनेदिन सबै बिरामीले उनलाई आशीर्वाद दिईरहेका थिए ।
आँखाअघि दिनहुँको मृत्युले बिरामीहरु आत्तिन थालेका थिए । जीवितै फर्किन पाइएला, नपाइएला झै हुन्थ्यो । अहिले सम्झिँदा धन्न बाँचेर फर्कियो झै लाग्छ । शिलापत्र ।