धनगढी । सुदूरपश्चिम सरकारले कोरोनाका विरामीको निःशुल्क उपचार गर्ने बताएको छ। संघीय सरकारले कोरोनाको जाँच र उपचार खर्च सर्वसाधरणले आफै व्यहोर्नुपर्ने भनेपछि देशमा आलोचना भइरहेको छ। संघीय सरकारले उपचारबाट हात झिकेपनि प्रदेश सरकारहरूले भने आफू मातहतका अस्पतालमा निःशुल्क उपचार गरिने बताएका हुन्।
प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोनाका विरामीको निःशुल्क उपचार गराउने बताए। बुधबार सेतोपाटीसँग कुरा गर्दै संघीय सरकारले शुल्क लाग्ने बताएपनि प्रदेश मातहतका अस्पतालमा कोरोनाका विरामीको निःशुल्क उपचार गर्ने बताएका हुन्।कैलालीमा रहेको सेती प्रादेशिक अस्पतालले कोरोना संक्रमितको निःशुल्क उपचार गरिरहेको छ। सामाजिक विकास मन्त्रालयको मातहत रहेको यस अस्पतालले प्रदेश सरकारले निर्णय गरेबमोजिम सेवा दिने जनाएको छ।
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले नेपाल सरकारबाट शुल्क लिने भनेर परिपत्र प्राप्त भएको बताए। ‘हामी प्रदेश मातहत रहेकाले अहिले निःशुल्क उपचार गरिरहेका छौं,’ उनले भने। प्रदेशमा अहिले कोरोनाका विरामी भएका सबै सरकारी अस्पतालले निःशुल्क उपचार गर्दै आइरहेका छन्।
डडेल्धुरा अस्पतालमा पनि निःशुल्क उपचार भइरहेको भएपनि संघीय सरकार मातहत पर्ने यस अस्पतालमा व्यवस्थापन समितिले गरेको निर्णय अनुसार लिने-नलिने निर्णय भइनसकेको मेडिकल सुपरिटेण्डेन्ट जगदिशचन्द्र बिष्टले बताए। अहिले प्रदेशभरका विभिन्न अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्रमा ९७ जना संक्रमित उपचाररत् छन्। यस्तै १४ जना शंकास्पद विरामीहरू पनि अस्पतालमा राखिएका छन्। ३ जना आइसियुमा र २ जनाको भन्टिलेटरमा उपचार भइरहेको छ। सेतोपाटी