प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा छन् । यसका निम्ति नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग केही सातायता निरन्तर छलफल गर्दै आएका छन् । तर, दुई अध्यक्षबीच मन्त्रिपरिषद् पुनर्गठनका सम्बन्धमा सहमति भने हुन सकेको छैन।
कुन बिधिबाट गर्ने भन्ने सन्दर्भमा ओली–प्रचण्डबीच सहमति हुन नसक्दा मन्त्रीपरिषद् पुनर्गठन तत्काल हुन सक्ने सम्भावना देखिएको छैन । प्रधानमन्त्री ओली तत्काल रिक्त तीन मन्त्रालयमा नयाँ मन्त्रीलाई जिम्मेवारी दिएर जाने पक्षमा छन् भने अध्यक्ष प्रचण्डले सबै मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री नियुक्त गर्नुपर्ने अडानमा छन् ।
प्रचण्डले आवश्यक परेमा पुरानालाई पनि पुनः नियुक्त गर्नुपर्ने तर अहिले सबैलाई राजीनामा गर्न लगाउने अडान लिँदै आएका छन् । यही विषयमा कुरा नमिल्दा मन्त्रिपरिषद् पुनर्गठनमा सहमति हुन सकिरहेको छैन।
ओली–गौतमबीच भेटवार्ता
यसैबीच, नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष बामदेव गौतमसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री ओलीले उपाध्यक्ष गौतमलाई बालुवाटार बोलाएर झण्डै २ घन्टा छलफल गरेका हुन् । ओली र गौतमबीच मन्त्रिपरिषद् पुनर्गठनलगायत विभिन्न विषयमा कुराकानी भएको थियो।
भेटका क्रममा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन कसरी गर्ने भन्ने विषयमा छलफल गरेको बताइएको छ । गौतमविरुद्ध सर्वाेच्चमा परेको रिट तथा मन्त्रिपरिषद् पुनर्गठनका विषयमा लामो छलफल भएको गौतमको सचिवालयले जानकारी दियो।
भेटका क्रममा गौतमले प्रधानमन्त्री ओलीसँग आफूलाई अर्थमन्त्री बनाउन माग गरेका छन् । उनले भेटमा आफूलाई अर्थमन्त्रीको जिम्मेवारी दिएमा दुई वर्षभित्र विकासको लहर ल्याउने दाबीसमेत गरेको स्रोतको भनाइ छ।
‘मलाइ अर्थमन्त्रीको जिम्मेवारी दिनुहोस्, दुई वर्षमा देश विकासमा कायापलट गर्छु,’ भेटमा नेता गौतमले ओलीलाई भने, ‘म तपाईलाई साथ दिएर काम गर्न सक्छु ।’ नेता गौतमले अहिले सरकारले धेरै काम गर्न नसकेको समेत गुनासो गरेका थिए।
उनले भनेका थिए, ‘अहिले गफ धेरै भयो, काम हुन सकेन । अब मन्त्रिपरिषद् पुनर्गठनमा काम गर्ने व्यक्तिलाई मन्त्री बनाउनुपर्छ । गुटउपगुट हेर्नु हुन्न काम गर्ने मान्छेलाई जिम्मेवारी दिनुपर्छ । विकासका लागि पनि म अर्थमन्त्री बन्नुपर्छ । विकासको लहर ल्याउने र अर्काे चुनावमा दुईतिहाइ ल्याउने गरी काम गर्छु । मिलेरै काम गरौँ ।’ उपाध्यक्ष गौतमले आफूलाई अर्थमन्त्री बनाउन भने पनि प्रधानमन्त्री ओलीले नेकपा महासचिव विष्णु पौडेललाई अर्थमन्त्रीको जिम्मेवारी दिने संकेत गरेको स्रोतले बतायो।
भेटमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दा सहजीकरण गरि दिनसमेत आग्रह गरेका थिए । प्रधानमन्त्री ओलीले भने, ‘तपाईंले सहजीकरण गरि दिनुपर्यो । सरकारमा को लैजाने भन्ने विषयमा मेरो निर्णय नै अन्तिम हुने व्यवस्था गरौं ।’
महासचिवलाई अर्थमन्त्री बनाउने भए उत्तम हुने बताउँदै उपाध्यक्ष गौतमले उनीबाहेक दोस्रो व्यक्तिलाई जिम्मेवारी दिने अवस्थामा आफ्नो दाबी रहने बताएको स्रोतको भनाइ छ । ‘महासचिव भएमा राम्रो,’ नेता गौतमले भनेका थिए, ‘उहाँ नहुने स्थिति आएमा दोस्रो दाबी मेरो रहन्छ ।’
उपाध्यक्ष गौतमसँग प्रधानमन्त्री ओलीले श्रीमती तुलसी थापालाई मन्त्री बनाउने विषयमा समेत कुरा गरेको स्रोतले बतायो।
नेकपाको गत भदौ २६ गते बसेको स्थायी कमिटी बैठकले मन्त्रिपरिषद् पुनर्गठनको निर्णय नै गरेको थियो । पछिल्लोपटक असोज ६ गते बसेको नेकपा सचिवालयको बैठकले मन्त्रिपरिषद् पुनर्गठन र पार्टी एकताका बाँकी काम टुंगो लगाउन दुई अध्यक्ष र महासचिव विष्णु पौडेललाई प्रस्ताव तयारका लागि जिम्मेवारी दिएको थियो।
सचिवालय बैठकले दिएको १० दिनको समयसीमा बिते पनि प्रस्ताव तयार हुन सकेको छैन । दुई अध्यक्षबीच छलफल जारी भए पनि अहिलेसम्म सहमति हुन सकेको छैन। -फरक धार