लमजुङ । बेंसीसहर–चामे सडकअन्तर्गत लमजुङको मर्स्याङ्दी गाउँपालिका–४, ताघ्रिङको घोप्टेखोलामा बेलिब्रिज बनेको छ । सडक बनेको करिब १४ वर्षपछि निर्माण गरिएको बेलिब्रिजले हिमाली जिल्ला मनाङ आउजाउमा सहज भएको छ । हिमाली जिल्ला मनाङ जोड्ने बेंसीसहर–चामे सडकको लमजुङ खण्डमा पर्ने ताघ्रिङ, घोप्टेखोलामा बनाइएको बेलिब्रिज ।
नेपाली सेनाले सडक निर्माण गरिरहँदा उत्तरी लमजुङको ताघ्रिङ क्षेत्रमा २०६३ मा मोटरबाटो पुगेको थियो । बेंसीसहरबाट करिब १९ किलोमिटर दूरीको घोप्टेखोलामा गत साउन २२ मा बाढीले बाटै बगाएपछि आउजाउमा समस्या थियो ।
स्थानीय बासिन्दा भर्याङ र फड्के राखेर जोखिमपूर्ण तरिकाले आरपार गर्थे । मोटरसाइकल पार गर्न जनप्रतिनिधिको पहलमा भदौ पहिलो साता बनेको फलामे पुल पनि बाढीले बगाएको थियो । वडाध्यक्ष सुमन गुरुङका अनुसार मुख्यमन्त्री, नेता, कर्मचारीलाई गुहारेपछि भदौ ७ बाट बेलिब्रिज निर्माण सुरु गरिएको थियो । निर्माण सकिएर शुक्रबारबाट सवारी आवागमन सुरु भएको छ ।
डुम्रे–बेंसीसहर–चामे सडक योजनाका सब–इन्जिनियर सुमन अधिकारीका अनुसार ४० टन भार थेग्ने गरी बेलिब्रिज निर्माण गरिएको छ । यसको लम्बाइ २७ मिटर र चौडाइ ४ दशमलव २० मिटर छ । ‘अब लमजुङबाट मनाङसम्म पुग्न कुनै अवरोध छैन, उनले भने, ‘बर्खायाममा भेलबाढी आए पनि समस्या छैन ।’
सडक योजनाका प्रमुख सिनियर डिभिजन इन्जिनियर अमितकुमार श्रेष्ठका अनुसार बेलिब्रिज निर्माण गर्न डिभिजन सडक कार्यालय दमौलीले स्टिल पार्ट्स सहयोग गरेको थियो । ढुवानी र फिटिङ डुम्रे–बेंसीसहर–चामे सडक योजनाले गरेको उनले बताए । ‘कुल इस्टिमेट ३२ लाखको हो । बीचमा केही सामान बाढीपहिरोले बगायो । केही पुरिए । केही बिग्रिए । तैपनि यो रकम पूरै खर्च हुँदैन,’ उनले भने । उनका अनुसार पुल बनेपछि दसैंतिहारमा यात्रा गर्नेलाई सहज भएको छ । ‘२ महिनासम्म सवारी साधन लमजुङ–मनाङ आउजाउ गर्न पाएनन् । मानिस पनि जोखिमले वारपार गरे । बेलिब्रिज बनेपछि सहज भयो । यो ठाउँमा अब बर्खायाममा पनि समस्या नहोला,’ उनले भने ।
बेंसीसहर–चामे सडकको बेंसीसहरदेखि म्यार्दीसम्म (लमजुङ खण्ड) ३५ किलोमिटर र म्यार्दीदेखि चामेसम्म (मनाङ खण्ड) ३० किलोमिटर छ । मनाङ खण्डको म्यार्दीदेखि तालडाँडा, सिरानताल, धारापानी क्षेत्रमा बर्सेनि पहिरो खस्छ । लमजुङतर्फ च्याम्चे, स्याँगे, काप्रेभीर, अर्खले, खुदी–भुलभुले साथै बेंसीसहरनजिकैको उतिसघारी खरखरे, बेलौती बिसौना क्षेत्रमा पहिरो खस्ने गर्छ । नेपाली सेनाले १९ वर्ष लगाएर ट्य्राक खोलेको उक्त सडक सडक विभागले आर्थिक वर्ष २०५१/०५२ देखि निर्माण सुरु गरेको थियो ।