नेपाल कम्युनिष्ट पार्टी नेकपा पार्टी सदस्य रहेका रुपन्देहीका करिब दुई हजार तीन सय व्यवसायीहरूले नेकपाको पार्टी सदस्यबाट राजीनामा बुझाएका छन्।
राजीनामा दिनेहरूमा पार्टीको केन्द्रीय विभागका सदस्यहरू समेत छन्। यस क्षेत्रमा रहेका ३५ वटा व्यवसायिक संघसंस्थामा दुई हजार तीन सय हाराहारी नेकपा पार्टी सदस्य छन्।
‘पार्टीले निरंकुश तरिका अपनाएर राजधानी सार्ने निर्देशन गर्यो। हाम्रा माननीयहरूलाई मत राख्न समेत बञ्चित गरियो। यसरी निरंकुशता स्वीकार गरेर पार्टीमा बस्नुको कुनै औचित्य नभएकोले राजीनामा दिने निर्णय गरेका हौ,’ बुटवलमा आयोजित पत्रकार सम्मेलनमा रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोराले भने।
नेपाल उद्योग परिसंघका प्रदेश संयोजक एजाज आलमले निर्वाचनका बेला व्यवसायीको काध चढेर चुनाव जितेका पार्टीका नेताहरूसँगै बस्नुको कुनै औचित्य नभएको बताए। उनले संसदमा पेस भएको राजधानीसम्बन्धी विधेयक फिर्ता लिन आग्रह गरे।
‘आफूहरूलाई धोका दिएको मतदाताको मानमर्दन गर्नुभयो त्यति मात्र होइन रुपन्देहीका संघ संस्थाले प्रदेश सरकारको स्थायित्वका लागि भौतिक संरचना उपलब्ध गरेको सहयोगको अवमूल्यन भयो’, उनले भने। सेतोपाटी
