Home पत्रपत्रिका यसपालिको दशैंमा पशु बलि बर्जित ! सेनाले पनि कुभिन्डो काटेर विधि पुर्‍याउने

यसपालिको दशैंमा पशु बलि बर्जित ! सेनाले पनि कुभिन्डो काटेर विधि पुर्‍याउने

by ईलालटिन
0 comment

कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै आसन्न दशैंमा बलि नचढाउन र भीडभाड नगर्न सार्वजनिक सूचना नै जारी गरिएको छ ।

धनुषा जिल्लाका राजनीतिक दलका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, गुठी संस्थान र विभिन्न स्थानीय क्लबका प्रतिनिधिको उपस्थितिमा असोज १३ गते सोमवार बसेको बैठकले यस वर्षको दशैंमा जिल्ला भित्रका कुनै पनि मठमन्दिरमा बलि नदिने निर्णय गर्‍यो ।

भीडभाड हुने क्रियाकलाप नगर्ने, प्रथा परम्परा धान्न संक्षिप्त क्षमा पूजा गर्ने निर्णय भएको भन्दै प्रशासनले सोही अनुसार गर्न जिल्लाका सम्पूर्ण जनसमुदायलाई अपिल गरेको छ ।

कोरोना भाइरसका कारण देशभरका मठमन्दिर बन्द छन् । पुजारीले गर्ने नित्य पूजाआजाबाहेक सर्वसाधारणलाई भीडभाड नगर्न र नगराउन सरकारले आदेश गरेको छ ।

लामो दूरीका सार्वजनिक यातायात लगायत अधिकांश क्षेत्र खुले पनि मठमन्दिर, पार्टी प्यालेस, जिमखाना, भोजभतेर र २५ जनाभन्दा धेरै व्यक्ति जम्मा भएर भीडभाड गर्न बन्देज गरेको छ ।

अघिल्ला वर्षमा दशैंमा बलिको रूपमा हजारौं संख्यामा बोका, राँगा लगायतको बलि दिइन्थ्यो । तर यसपालि भने अघिल्लो वर्षको जस्तो हुने देखिँदैन ।

दशैंको शुरूआतमा फूलपाती भित्र्याउँदै आएको नेपाली सेनाले यसपालि बलि नदिने भएको छ । नेपाली सेनाको सैनिक जनसम्पर्क निर्देशनालयका प्रमुख समेत रहेका प्रवक्ता सहायक सेनानी सन्तोष बल्लभ पौडेलले बलिको रूपमा पशु बलि नदिने बताए । कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै यसपालिको बलिका रूपमा कुभिन्डो काटेर विधि पूरा गर्ने प्रवक्ता पौडेलले बताए ।

‘यसपालि कोभिड–१९ को संक्रमणलाई मध्यनजर गरेर सेना कुभिण्डो काटेर विधि पूरा गर्ने योजनामा छ,’ प्रवक्ता सहायक रथी पौडेलले लोकान्तरसँग भने । सेनाले यसको अभ्यास चैतेदशैंमा गरिसकेको छ ।

२०७६ सालको चैते दशैंमा पशु बलिको ठाउँमा कुभिन्डो काटेर विधि पूरा गरिएको प्रवक्ता पौडेलले बताए । ‘सेनाले दशैंमा कुभिन्डो काटेर बलिको विधि पूरा गर्ने अभ्यास चैतेदशैंमा गरिसकेको छ,’ प्रवक्ता पौडेलले भने, ‘सरकारको नीति र निर्देशनमा सेना चल्ने हो, अहिले सरकारले भीडभाड नगर्न भनेको छ ।’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भने बलि चढाउने र नचढाउने विषयमा निर्णय नहुने बताएको छ । धर्म र आस्थासँग जोडिएको विषय भएकाले मन्त्रालयले कुनै निर्णय नगर्ने तथा व्यक्ति र समाज आफैंले बुझ्नुपर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहप्रवक्ता राजन पौडेलले बताए ।

‘मन्त्रालयले धर्म र आस्थासँग जोडिएको विषय भएकाले बलि चढाउन तथा नचढाउन भन्दैन,’ प्रवक्ता पौडेलले भने, ‘महामारीको समयमा हामी सबै सचेत हुने हो ।’ विधिका लागि पूजाआजा गर्न पाइने तर भीडभाड गर्न, स्वास्थ्य मापदण्ड भने भुल्न नहुने मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयले भने भीडभाड हुने धार्मिक गतिविधिमा रोक लगाएको जनाएको छ । मन्त्रालयले नित्य पूजा गर्नेबाहेक अन्य जुनसुकै गतिविधिमा रोक लगाएको जनाएको छ । ‘मन्त्रालयले नित्य पूजा गर्नेबाहेक अन्य सबै धार्मिक गतिविधि नगर्ने भनेको छ,’ गृह मन्त्रालयका प्रवक्ता चन्द्रबहादुर बुढाले भने, ‘बलिको लागि भनेर विशेष निर्णय भएको छैन ।’-लोकान्तर

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com