Home राजनीति घर भत्काएर जातीय विभेद गर्नेलाई कारबाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

घर भत्काएर जातीय विभेद गर्नेलाई कारबाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

by ईलालटिन
0 comment

पर्वत । बझाङ जिल्लाको बिथडचिर गाउँपालिका वडा नम्बर ७ स्याल ढुङ्गामा भएको जातीय विभेदको घटनाप्रति विरोध गर्दै पर्वतका दलित सङ्गठनहरूले दोषीलाई कारबाहीको माग गरेका छन् ।

दलित साझा मञ्च पर्वतको संयोजनमा दोषीलाई कडा कारबाहीको माग गर्दै पर्वतका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद आचार्य मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयलाई ज्ञापन पत्र पठाइएको हो ।

दलित साझा मञ्च पर्वतका संयोजक याम विश्वकर्माको नेतृत्वमा नेपाल दलित सङ्घ पर्वत,नेपाल उत्पीडित जातीय मुक्ति समाज पर्वत,नेपाल दलित मुक्ति मोर्चा,नेपाल दलित मुक्ति सङ्गठन पर्वत,नेपाल दलित स्वतन्त्र मञ्च पर्वत,दलित पत्रकार मञ्च पर्वत र दलित सञ्जाल कुश्मा नगरपालिकाले संयुक्त रूपमा ज्ञापन पत्र पठाएका हुन ।

बिथडचिर-७,स्याल ढुङ्गा स्थित पुड्के ओखेडाले आफ्नो जमिनमा घर निर्माण गर्दै गरेको अवस्थामा यहीँ श्रावण १० गते सोही गाउँ निवासी गैर दलित व्यक्तिहरूले बन्दै गरेको घर भत्काइदिनुका साथै बालीनाली समेत नष्ट गरेका थिए ।

ज्ञापन पत्रमा भनिएको छ “सुदूरपश्चिम प्रदेश, बझाङ जिल्ला, बिथडचिर गाउँपालिका वडा नम्बर ७ स्याल ढुङ्गा स्थित पुड्के ओखेडाले आफ्नो जमिनमा घर निर्माण गर्दै गरेको अवस्थामा मिति २०८० श्रावण १० गते बुधवारका दिन ‘सोही गाउँ निवासी कृष्ण जोशी, भवानी जोशी, कित्थे जोशी लगायत ४० जना भन्दा बढी गाउँलेहरू मिलेर सानो जातिको मान्छे आफ्नो घर गाउँ नजिकै आएर बस्न लागेको भन्दै निर्माणाधीन घर भत्काउनुको साथै ओखेडा परिवारलाई कुटपिट गरेको घटना’को घोर निन्दा र भर्त्सना गर्दछौँ ।”

पीडित ओखेडाले २५ वर्ष पहिले खरिद गरी लालपुर्जा समेत आफ्नै नाममा रहेको जग्गामा बनाउँदै गरेको घर भत्काउने, कुटपिट गर्ने, बालीनाली नष्ट गर्नुका साथै ज्यानै लिन्छौ भन्ने सम्मको धम्कीपूर्ण गालीगलौज गर्ने यस अमानवीय घटनाले दलित भनिने समुदायले भोग्नुपरेको आततित पिडा र कथित गैर दलित भनिनेहरूले प्रस्तुत गर्ने व्यवहारको एक उदाहरण प्रस्तुत गरेको छ ।

व्यक्तिगत रूपमा ओखेडा परिवारले समुदायलाई नै हानी हुने कार्य गरेको वा अन्य समस्या भए कानुनी प्रक्रियाबाट समाधान गर्ने सुविधा हुँदाहुँदै पाशविक शैलीमा हुल हुज्जत गर्दै घर भत्काउनु र कुटपिट गर्ने कार्यले कानुनको नै खिल्ली उडाएको छ । अर्को तर्फ संविधानमा जातीय विभेद अन्त्य भएको भनिए पनि बेलाबेला हुने यस प्रकारका घटनाले नेपाली समाजलाई थप कुरूप र पछाडि धकेलेको छ । जातीय छुवाछूत जस्तो डरलाग्दो र घिनलाग्दो अपराध व्यावहारिक रूपमै अन्त्य गर्नका लागी नेपाल सरकारको गम्भीरताका साथ ध्यानाकर्षण गराउँदछौँ ।

पुनः यो घटनाको निन्दा र भर्त्सना गर्दै घटनामा संलग्न पिडकलाई कानुन बमोजिम कडा भन्दा कडा कारबाहीको माग गर्दछौँ । साथै पीडित परिवारलाई क्षतिपूर्ति र बाँकी दिनमा समेत समुदायमा निर्बाध रूपमा जिउने वातावरण होस् भनी नेपाल सरकार समक्ष जोडदार माग गर्दछौँ ।”
उक्त घटनाको विरोध गर्दै दलित संघसंगठन, अगुवा तथा सामाजिक अभियानताहरुले दोषीलाई कारबाही गर्न माग गर्दै उक्त घटनाको विरोध गरेका छन् ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com