पर्वत । आजका बालबालिका भोलिका आमाबुबाका सहारा र राष्ट्रका कर्णधार हुन् । उनीहरूलाई बाल्यकालमा जस्तो शिक्षा र संस्कार दिइयो भविष्यमा त्यसतै नै हुने हुन् । पछिल्लो समयमा बालबालिकाहरूलाई राम्रो विद्यालय र गतिलो शिक्षा प्रदान गरिँदै आएको भए पनि उनीहरूमा संस्कार देखिँदैन ।
“किताबले बालबालिकालाई ज्ञान त दिन्छ तर संस्कार दिन सक्दैन । अहिले नै उनीहरूलाई गतिलो संस्कार दिन नसक्ने हो भने भविष्य अन्धकार बन्ने छ । बालबालिका भनेको परिवार, समाज र देशका लागि चाहिने जनशक्ति हुन् । त्यो जनशक्ति निर्माणका लागि उनीहरूलाई संस्कार कक्षा दिँदै आएका छौँ ।”, प्रगति संस्कार बाल क्लबकी संरक्षक रश्मि गौतमले भनिन्, “हामीले बालबालिकाको भविष्यका लागि निःशुल्क “संस्कार कक्षा” सञ्चालन गर्दै आएका छौँ । यो प्रभावकारी पनि भएको छ । अभिभावकहरू पनि एकदमै खुसी हुनुहुन्छ ।”
स्थानीय विद्यालयमा पढाउँदै आएकी गौतमले आफ्नो बाँकी समय बालबालिकाहरूमा सकारात्मक परिवर्तन र उनीहरूको संस्कार निर्माण गर्नमा खर्च गर्दै आएकी छिन् । उनको अभिभावकत्व रहेको प्रगति संस्कार बाल क्लबमा ७० जना बालबालिका आबद्ध भएता पनि नियमित चाहिँ ३० जना बालबालिकाहरू “संस्कार कक्षा” मा उपस्थित हुने गर्छन् । उनीहरूलाई परम्परा, संस्कृति, धर्म, भेषभुषा, भाषा, साहित्य लगायतका विषयहरूमा जानकारी दिने गरिन्छ । मौलिक सिपमूलक कामका बारेमा सिकाउने र अभ्यास गराउने काम गर्दै आएको गौतमले बताइन् ।
“मैले चैत महिनाबाट अभिभावकलाई मनाएर उहाँहरूका बालबालिकालाई अनलाइन मार्फत संस्कार कक्षाको सुरुवात गरेकी हुँ । अहिले हरेक बिदामा बालबालिकालाई जम्मा गरेर उनीहरूलाई भविष्यमा काम लाग्न सक्ने हरेक गतिविधिहरू सिकाउने गरेका छौँ ।”, उनले भनिन्, “असारको लामो बिदामा पनि १५ दिनको “संस्कार कक्षा” सञ्चालन गरेका थियौँ । त्यहाँ बालबालिकाहरूलाई दुना टपरी गाँस्ने, दुबोको माला बनाउने, कागज र अन्नबाट चित्र बनाउने, बटारेको धूप बनाउने र सर्टमा टाँक राख्न सिकाउने काम सम्पन्न ग¥यौँ ।” समापन कार्यक्रममा कुश्मा नगरपालिका–६ का वडा अध्यक्ष ईश्वर गिरीको प्रमुख आतिथ्यता रहेको थियो भने सिकाइको उपलब्धिका बारेमा सम्पदा पौडेलले बोलेकी थिइन् ।
![](https://elaltin.merohealthnepal.com/wp-content/uploads/2022/07/yourads.jpg)
क्लबले यस भन्दा अघि ट्राफिक सप्ताहको अवसरमा ट्राफिक नियम पालना सम्बन्धी सडक नाटक गरेको थियो । गणतन्त्र दिवसको अवसरमा पनि बालबालिकालाई समावेश गरेर गणतन्त्र कसरी आयो ? कहिले आयो ? भनेर जानकारीमूलक सडक नाटक समेत प्रहसन गरेको थियो । क्लबले वातावरण दिवस, भानु जयन्ती लगायतका विशेष दिनहरूमा नाटक प्रहसन गर्दै आएको कुरा प्रगति संस्कार बाल क्लबकी संरक्षक गौतमले जानकारी दिइन् ।