Home Vlog “परम्परागत  राजनीतिको अन्त”

“परम्परागत  राजनीतिको अन्त”

by ईलालटिन
0 comment

अमृत अधिकारी । सोभियत सङ्घको पतन पछि जापानी लेखक फुकुयामाले  “इन्ड अफ द हिस्ट्री“ भनेर कम्युनिजमको अन्त भएको कुरा आफ्नो पुस्तकमा उल्लेख गरेका थिए । प्रतिनिधि मूलक तीन वटा क्षेत्रको उप–निर्वाचन २०८० ले परम्परागत आईडोलोजी भएका  नेपाली काङ्ग्रेस , एमाले र माओवादीको  भोट बैङ्कमाथि घण्टी बजाएको छ । घोषण गर्न हतारो भएता पनि सङ्केत त्यतैतिर छ ।

आफूलाई प्रजातन्त्र र लोकतन्त्रको मसिहा ठान्ने नेपाली काङ्ग्रेसको आधार क्षेत्रमा हमला भएको छ । अब बिपीको आदर्शलाई हेरेर मानिसले भोट हाल्ने दिन गएका छन् । कम्युनिस्ट नाम  बोकेको भरमा मत आउने दिन गए । वृद्ध भत्ताको सुरुवात  गरेको भन्दैमा अब त्यसको ब्याज सधैँ प्राप्त हुँदैन । राज्य र सरकारका नियमित काम हुन् । ती, लोकप्रिय  चुनाव चिन्ह र पुरानो इतिहास बोकेको पार्टी भनेर डिङ हान्ने दिन सकिएका छन् ।

भलै केही उपलब्धिलाई भएता पनि डर त्रासबाट आर्जेको माओवादीको शक्ति  दिन दुगुना रात चौगुनाको रफ्तारमा पतन उन्मुख छ । तराई केन्द्रित दलको आकर्षण, विकर्षणमा परिणत भएको छ । सत्ता प्राप्ति  बाहेक ती दलको अरू लक्ष्य छैन । यिनीहरूबाट तराई मधेसको उन्नति प्रगति हुने कुनै सम्भावना छैन । नेकपा एस र राजाको लिगेसी बोकेको राप्रपाको चर्चा गर्नु बेकार छ । नेकपा एसले मन्त्री हुने नाम समेत पाउन कठिन हुने छ ।

आईडोलोजिको अन्त भएको घोषणा गर्नु अलि हतार हुन्छ कि ? तर पनि समाज र नेपाली मतदाताले वाद र लिगेसिलाई त्यागेको उदाहरण हो उपनिर्वाचन २०८० । जनता अब सचेत भएछन् । हिजो रेडियो नेपाल, नेपाल टेलिभिजन, गोरखापत्र तथा पार्टी पिच्छेका पत्रीकाका प्रायोजित समाचारलाई हात हातको सञ्चार र सामाजिक सञ्जालले धावा बोली दिएको छ ।  बाबु आमाले भनेको  आधारमा  मतदान गर्ने  आधार पनि भत्केको छ । अब  वा र आमा होइन, छोरा नातिले भनेको ठाउँमा मतदान गर्ने परिस्थिति बनेको छ । अरूलाई गाली गरेर वा इतिहासको ब्याज भजाएर अब मानिसले मतदान गर्दैनन् । पुराना पार्टीका दास पनि बन्दैनन् जनता । कार्यकर्ता दास होलान् । जनता दास हुँदैनन् । नेता भन्दा जनता  धेरै सचेत भइसकेका छन् । नेताले के बोलेको छ, र के बोल्छ भन्ने कुरा राम्रोसँग मूल्याङ्कन गर्न सक्ने भएका छन् ।

नेताको बेलगाम बोली, भ्रष्टाचार, कुशासन र अपारदर्शीयतालाई दण्डित गरेका छन् । जनताले व्यवस्था परिवर्तन चाहेका छैनन् । अवस्था परिवर्तन चाहेका छन् । सुशासन, रोजगार, विकास, पारदर्शिता अबको मुख्य मुद्दा हो । रास्वपा गर्छ कि भनेर आशा गरेका छन् । अरूलाई गाली गरेर आलोचना गरेर समय बिताउने छुट अब छैन । रविको पार्टीले गरेन भने भोलि कविको पार्टीलाई मतदान गर्न सक्छन् भन्ने बलियो आधार हो, उपनिर्वाचन । त्यसैले परिवर्तन हुने वा सकिने पुराना पार्टीले निर्णय गर्ने बेला भएको छ । पार्टीका नेता कुरेर बस्न सक्छन् तर जनता सधैँ कुरेर बस्दैनन् । परिवर्तन चाहन्छन् । उपनिर्वाचनको सिकाई र पाठ सोझो छ, सकिने वा सुधारिने ?

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com