Home जनप्रतिनिधि काँग्रेसमा अवसर लिने तर भोट अन्त हाल्नेलाई पहिचान गर्न सभापति जोशीको उर्दी

काँग्रेसमा अवसर लिने तर भोट अन्त हाल्नेलाई पहिचान गर्न सभापति जोशीको उर्दी

by ईलालटिन
0 comment

पर्वत । नेपाली काँग्रेस पर्वतका पार्टी सभापति एवं काँग्रेस युवा नेता युवराज जोशीले रूखको जरामा पानी हाल्ने र रूखको जरा काट्नेहरूबिच फरक छुट्टाउन काँग्रेस कार्यकर्तालाई आग्रह गरेका छन् ।  सभापति जोशीले नेपाल विद्यार्थी सङ्घको ५४ औँ स्थापना दिवसको अवसरमा नेपाल विद्यार्थी सङ्घ जिल्ला कार्यसमिति पर्वतले आयोजना गरेको विचार गोष्ठीलाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै आज उक्त कुरा बताएका हुन् ।

उनले काँग्रेसमा सधैँ अवसर लिने तर भोट सूर्यमा हाल्नेहरूलाई पहिचान गरी व्यक्ति अनुसारको व्यवहार गर्न नेवि सङ्घलाई सुझाव समेत दिएका थिए । सभापति जोशीले आफू काँग्रेसमा कुराभन्दा काम गर्ने सभापति भएकोले काँग्रेसका प्रत्येक कार्यकर्ताको अप्ठ्यारोमा सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

उनले देशको राजनीतिक परिवर्तनका निम्ति नेपाल विद्यार्थी सङ्घको ठुलो भूमिका रहेको बताउँदै देशमा राजतन्त्रको अन्त्य गरी गणतन्त्रको स्थापना गर्नका साथै अन्य आन्दोलनमा पनि नेविसंघको ऐतिहासिक भूमिका रहेको दाबी पनि गरे ।

कार्यक्रममा नेपाली काँग्रेस पर्वतका उपसभापति डाक्टर चूडामणि शर्माले काँग्रेस कार्यकर्तालाई पार्टी अनुशासनमा रहन सुझाव दिँदै पार्टीको संस्थागत सुदृढीकरणका लागि लाग्न सबै नेता तथा कार्यकर्तालाई सुझाव दिएका थिए । सोही कार्यक्रममा नेपाली काँग्रेसका उपसभापति शिवप्रसाद सुवेदीले नेपाली काँग्रेसभित्र पर्वतमा गलत र नकारात्मक टिप्पणी गर्ने प्रवृत्ति बढ्दै गएको बताउँदै त्यस्ता गतिविधिलाई निरुत्साहित गर्न नेवि सङ्घले पनि उपयुक्त भूमिका खेल्नुपर्ने बताए ।

कार्यक्रममा नेपाल विद्यार्थी सङ्घ पर्वतका संस्थापक अध्यक्ष एवं नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि कुलप्रसाद उपाध्याय, नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि एवं नेपाल विद्यार्थी सङ्घका पूर्व अध्यक्ष लेखनाथ पौडेल, नेपाली काँग्रेसका जिल्ला सदस्य ओमप्रसाद शर्मा घायल, नेपाली काँग्रेस प्रदेश क का सभापति राजकुमार क्षेत्री, प्रदेश सभा ख का सचिव ठाकुर रसाइली, नेपाली काँग्रेस कुश्मा नगरका सभापति किशोर भण्डारी, नेपाल विद्यार्थी सङ्घ पर्वतका पूर्व अध्यक्ष मिलन सुवेदी, नेपाल महिला सङ्घ पर्वतका अध्यक्ष मुना शर्मा लामिछाने, नेपाल ट्रेड युनियन काँग्रेस पर्वतका अध्यक्ष सुरेन्द्र केसी, नेपाल प्रेस युनियन पर्वतका अध्यक्ष उत्तम अधिकारी, नेपाल विद्यार्थी सङ्घ पर्वतका पूर्व अध्यक्ष सन्तोष पाठक, सौरभ चापागाईँ पूर्व सभापति पृथ्वी नारायण क्याम्पस, गुप्तेश्वर बहुमुखी क्याम्पसका स्ववियु सभापति सतिश रेग्मी लगायतले बोलेका थिए ।

नेपाल विद्यार्थी सङ्घ पर्वतका अध्यक्ष अजय पोखरेलको सभापतित्वमा भएको उक्त कार्यक्रमको सञ्चालन नेवि सङ्घका सचिव आरसी सुवेदीले गरेका थिए । कार्यक्रममा पूर्व अध्यक्षहरू सहित विभिन्न व्यक्तिहरूलाई सम्मान समेत गरिएको थियो ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com