पर्वत । गण्डकी प्रदेश सभा सदस्य रेखा गुरुङले आफ्नो बुवा स्वर्गीय एमप्रसाद गुरुङको स्मृति दिवसको अवसर पारेर आइतबार पर्वतका सामुदायिक विद्यालयहरूमा भित्ते घडी हस्तान्तरण गरेकी छिन् ।
कुश्मा नगरपालिका–१० मा रहेका पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजको संयोजनमा भएको कार्यक्रममा प्रदेशसभा सदस्य गुरुङले ६ वटा विद्यालय र एउटा सिकाइ केन्द्रमा ५८ थान घडी उपलब्ध गराएकी हुन् । उनले पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजको कार्यालय व्यवस्थापनका लागि समेत भौतिक सामग्रीहरू हस्तान्तरण गरेकी छिन् ।
प्रदेशसभा सदस्य गुरुङले विद्यालयका प्रत्येक कक्षा कोठामा घडीको व्यवस्थापन गर्ने बताए अनुसार पूर्णेश्वर माध्यमिक विद्यालयमा २४, जनक माध्यमिक विद्यालयमा १५, सिद्देश्वर प्राथमिक विद्यालयमा ६, पिपलटारी प्राथमिक विद्यालयमा ५, लाँकुरी प्राथमिक विद्यालयमा ५, धौलागिरि बालविकास केन्द्रलाई २ र जनज्योति सिकाइ केन्द्रलाई १ थान भित्ते घडी प्रदान गरिएको हो ।
प्रदेशसभा सदस्य गुरुङले आफ्नो बुवाको स्मृति पारेर विद्यालयमा सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरिन । उनले हरेक कुरालाई राजनीतिसँग जोडेर नहेरिदिन आग्रह समेत गरिन् । “पार्टी र विचार एकातिर हुन्छ । कहाँ सहयोगको आवश्यकता रहन्छ त्यो हेरेर सहयोग गर्ने हो ।”, उनले भनिन्, “विकास शिक्षाबाटै सुरु हुने भएकाले विद्यालयबाटै सहयोग गरौँ भन्ने हो । सानो सहयोग हो । अलिकति अप्ठ्यारो पनि लागको छ । मैले बुवालाई स्मरण गर्दै प्रतिबद्धता गर्न चाहन्छु कि पिपलटारीको हकमा गर्न सक्ने कुराहरू गरेर छाड्छु ।”

उक्त कार्यक्रममा समाजका सल्लाहकार तथा राजनीतिक व्यक्तित्व शान्त पौडेल, समाजका सल्लाहकार वडा अध्यक्ष रामचन्द्र सुबेदी, कुश्मा नगरपालिकाका पूर्व कार्यसमिति सदस्य देवेन्द्र बहादुर नेपाली, जनक माध्यमिक विद्यालयका प्रधानाध्यापक टेकनाथ अधिकारी, पूर्णेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद अर्याल, पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजका पूर्व अध्यक्ष अरुण पौडेल, नेपाली काँग्रेसका क्षेत्र क सदस्य लोकनाथ अधिकारी, नेकपा एमालेका सचिव शोभाखर खनाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष कृष्णप्रसाद सुवेदी (राजु), जनक मावि विव्यस सदस्य विष्णुहरि तिवारी लगायतले स्वर्गीय यमप्रसाद गुरुङङप्रति श्रद्धाञ्जली अर्पण गर्दै समाज र विद्यालयको वर्तमान अवस्था र समस्याका बारेमा धारणा राखेका थिए ।
समाजका अध्यक्ष राजु पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा अध्यक्ष राजु पौडेलले स्व. गुरुङको सामाजिक तथा राजनीतिक जीवनबारे संक्षिप्त परिचय दिएका थिए भने उपाध्यक्ष विनय चापागाईँले स्वागत र सचिव सन्तोष पौडेलले कार्यक्रम संचालन गरेका थिए ।
साथै सोही अबसरमा प्रदेश सभा सदस्य रेखा गुरुङलाई समाजको तर्फबाट सम्मान गरिएको थियो भने कुश्मा १० निवासी मृगौलाका बिरामी गोबिन्द लामिछानेको परिवारलाई भुपु समाजले संकलन गरेको सहयोग रकम हस्तान्तरण गरिएको थियो । कार्यक्रममा स्व. गुरुङकी धर्मपत्नी रत्न कुमारी गुरुङ र छोरा हितमान गुरुङको पनि उपस्थित रहेको थियो । गुरुङ फलेवास नगरपालिका–९ का वडा अध्यक्ष पनि हुन् ।
को हुन् प्रदेशसभा सदस्य रेखा गुरुङका पिता स्व. एमप्रसाद गुरुङ ?
वि.सं. १९९६ सालमा पर्वत जिल्ला फलेवास नगरपालिका अन्तर्गत भंगरामा जन्मनु भएका उहाँको वि.सं. २०५९ चैत्र २६ गते आजकै दिन स्वर्गारोहण भएको थियो । उहाँका पिता हर्कबहादुर गुरुङको निधनपछि उहाँले तत्कालीन समयमा मुखियालीको काम सम्हाल्नु भएको थियो । तत्कालीन समयमा भंगरामा खेत, बारी दुवै हेर्ने, जग्गाको स्वामित्व उपलब्ध गराउने, घरसारको राजीनामा गरेर स्वामित्व दिने लगायतका काम उहाँले सम्पादन गर्ने गर्नुहुन्थ्यो । त्यति बेलाको समयमा पनि कर तिर्न नसक्नेहरूलाई आफै पकेटबाट कर तिरेर रसिद काटिदिनुहुन्थ्यो भन्ने जनआवाज आज पनि सोही भूगोलबासीहरुका मुखबाट सुन्न सकिन्छ ।
स्व. गुरुङ २०३६ सालको जनमतसंग्रहमा बहुदलको पक्षमा दिलो ज्यान दिएर हिँड्नुभएको व्यक्तित्व हो । उहाँलाई ०३६ सालमा स्याङ्जामा ज्यान मार्नेसम्मको आक्रमण भएको थियो तर उहाँ सो आमक्रणबाट संयोगले उम्किन सफल हुनुभयो । उहाँ २०४२ सालमा सत्याग्रह, २०२३ सालमा भंगरा गाउँ पञ्चायतको प्रधानपञ्च हुँदै जनताको सेवा गर्दै आउनु भएको थियो । उहाँले २०४६ सालको जनआन्दोलनमा आन्दोलनका मोर्चाको नेतृत्व सम्हाल्दै २०४९ सालको स्थानीय चुनावमा गाविस अध्यक्ष समेत हुनुभयो । उहाँ सोही वर्ष भएको जिविस पर्वतको निर्वाचनमा जिल्लाको ऐतिहासिक जिविस सभापतिमा समेत विजयी हुनुभयो । उहाँले २०४९ देखि २०५३ सम्म ५ वर्ष जिविस सभापतिको रूपमा कार्यसम्पादन गर्नुभयो । उहाँको विगत फर्केर हेर्दा केही दुःखद संयोग पनि छन् । उहाँ जिविस सभापतिको कार्यकाल सकिएका केही वर्षपछि (२०५५ र २०५७ मा) तत्कालीन माओवादी पक्षबाट विस्थापित हुनु परेको थियो । सो समयमा उहाँको घर तोडफोड, सम्पत्ति लुटपाट र ज्यान माग्नेसम्मको धम्की आएकै कारण आफ्नो घर छाडेर काठमाडौं बस्न बाध्य हुनु भएको थियो ।
उहाँको संलग्नताको कुरा गर्दा स्व. गुरुङ तत्कालीन गण्डकी अञ्चल युवक सङ्गठनको सभापति, नेपाली काँग्रेसको आजीवन सदस्य, २०२३ सालको भंगराको प्रधानपञ्च, २०४९ को भंगराको गाविस अध्यक्ष, २०४९ देखि २०५३ सम्म पर्वतको जिविस सभापतिको भूमिकामा रहनु भएको थियो । उहाँका असल कर्महरू थुप्रै छन् । आज ती धेरै कुरा सामान्य लाग्न सक्छन् तर पनि उहाँले गरेका विकास र परिवर्तनका कुराहरू धेरै अनुसरणयोग्य थिए । उहाँले तत्कालीन समयमा ग्रामोदय निमाविलाई मावि बनाउन, त्यस क्षेत्रका ६ वटा सामुदायिक वनलाई संरक्षण गरी नमुना बनाउन, भंगरामा उपस्वास्थ्य चौकी, प्रहरी चौकी स्थापना गर्न गृह मन्त्रालयबाट स्वीकृत गराउने कार्य गर्नुभएको थियो । तत्कालीन समयमा निकै कम बजेट आउने भएका कारण ठुला ठुला विकास निर्माण कार्य प्रारम्भ नभएता पनि मुख्य सडक, गोरेटा, घोरेटा बाटाहरू निर्माणमा उहाँको अग्रसरता रहेको थियो ।