पर्वत । सार्वजनिक शिक्षामा व्यापक जनगुनासो आइरहेका बेला कुश्मा १० पिपलटारीले सार्वजनिक शिक्षा सुधारका लागि आगामी वर्ष गरिने कार्यक्रमको खाका तयार गरेको छ ।
कुश्मा नगरपालिका वडा नं. १० का अध्यक्ष रामचन्द्र सुुवेदीको अध्यक्षतामा शनिवार बडा कार्यालयमा बसेको सरोकारवालाहरूको बैठकले सामुदायिक विद्यालयका सामूहिक समस्या पहिचान गरी समाधानका लागि कार्ययोजना बनाएको हो ।
चैत्र १५ गते भूतपूर्व विद्यार्थी समाजको पहलमा भएको अन्तरक्रियामा सहभागी वक्ताहरूले समस्या समाधानका लागि समिति बनाएर अघि बढ्न सुझाव दिएका थिए । सोही सुझावका आधारमा बनेको समितिको बैठकले कार्ययोजना बनाएर वडालाई दिएको हो ।
बैठकले सार्वजनिक शिक्षा सुधारका लागि वालमैत्री फर्निचर निर्माण गर्ने, शिक्षकहरूलाई कम्प्युटर तालिम उपलब्ध गराउने, विद्यालयमा युरोगार्ड सहित स्वच्छ पिउने पानीको व्यवस्था गर्ने, अभिभावक सचेतना कार्यक्रम सञ्चालन गर्ने, अतिरिक्त कक्षा सञ्चालन गर्ने, आवासीय कक्षा (दिवा कक्षा) सञ्चालन गर्ने, वडा स्तरीय अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने, दिवा खाजा व्यवस्थापन गर्दै जंकफुड निशेध गर्ने निर्णय गरेको छ ।

वडाभरी एक किसिमका पाठ्यपुस्तक लागू गर्ने, शिक्षा समिति, परीक्षा समिति, अनुगमन समिति निर्माण गर्ने, उपलब्धि विश्लेषण गरी पुरस्कृत गर्ने व्यवस्था गर्ने, नमुना विद्यालय भ्रमण कार्यक्रम तय गर्ने, शैक्षिक योजना निर्माण गर्ने, कक्षाकोठा व्यवस्थापन गर्ने, शैक्षिक सामग्री निर्माण कार्यशाला सञ्चालन गर्ने, पुस्तकालय व्यवस्थापन तथा स्थापना गर्ने, वडामा एसइई परीक्षा केन्द्र सञ्चालनमा ल्याउन पहल गर्ने, सिभिल इन्जिनियरिङको पठनपाठनलाई व्यवस्थित तवरले सञ्चालन गर्न सघाउने लगायतका विषय योजनामा समावेश गरेको छ ।
उठान भएका शैक्षिक समस्याहरूलाई आगामी शैक्षिक सत्रमा क्रमशः निराकरण गर्दै लैजान गर्नुपर्ने कार्य, सोका लागि मुख्य क्रियाकलाप, मुख्य जिम्मेवार निकाय र लगानीको श्रोत समेत खोजी र पहिचान गरी सो अनुसार अघि बढ्न बैठकले योजना निर्माण गरेको कुश्मा १० का वडा सचिव नारायण लामिछानेले बताए ।