Home Social पर्वत अस्पतालमा अबदेखि निःशुल्क सेनेटरी प्याड

पर्वत अस्पतालमा अबदेखि निःशुल्क सेनेटरी प्याड

by ईलालटिन
0 comment

पर्वत । पर्वत अस्पतालले महिनावारी हुँदा महिलाहरूले प्रयोग गर्ने सेनेटरी प्याड अबदेखि निःशुल्क उपलब्ध गराउने भएको छ । आज अस्पतालले विभिन्न क्षेत्रमा आबद्ध महिलाहरूको सहभागिता गराएर सेनेटरी प्याड मेसिनको (भेन्डिङ) औपचारिक रूपमा सुरुवात गरेको हो ।

अस्पतालमा आउने बिरामी र तिनलाई भेट्न आउने आफन्तहरूलाई ध्यानमा राख्दै सेनेटरी प्याड मेसिन (भेन्डिङ) सञ्चालनमा ल्याएको अस्पतालको भनाइ छ । आजका दिनसम्म पनि महिलाहरूले पसलबाट सेनेटरी प्याड किन्न असहज मान्ने गरेका छन् । अहिले अस्पतालमा एउटा मात्र सेनेटरी प्याड मेसिन (भेन्डिङ) राखिएको छ । आवश्यकता अनुसार बढाउँदै लैजाने अस्पतालकी निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रुक्मिना अधिकारीले बताइन् ।

“महिनावारी महिलाहरूमा हुने नियमित प्रक्रिया भए पनि सेनेटरी प्याड पसलमा पुगेर किन्न अप्ठ्यारो मान्ने महिलाहरू धेरै हुनुहुन्छ ।”, निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर अधिकारीले भनिन्, “अस्पतालमा आउने महिलाले “प्याड” बोकेर नआउने र अचानक महिनावारी हुँदा समस्या बेहोर्नु पन झन्झट हट्ने विश्वास लिएका छौँ ।”

जलजला गाउँपालिको दुई लाख आर्थिक सहयोगमा अस्पतालको ओ.पी.डी (आउटप्यासेन्ट डिपार्टमेन्ट) को शौचालय परिसरमा सेनेटरी प्याड मेसिन (भेन्डिङ) राखिएको हो । “मेसिन माथि ५० वटा सिक्का राखिएको हुन्छ । एउटा सिक्का मेसिनमा छिराएपछि एक पटकमा एउटा मात्र प्याड मेसिनबाट खस्ने गर्छ । अस्पतालका अध्यक्ष शङ्कर गिरीले भने, “हामीले अस्पताल परिसरमा दुईचार वटा मेसिन पनि राख्न सक्थ्यौँ । तर गुणात्मक भन्दा बढी गुणस्तरमा ध्यान दिएका छौँ । सुरुवात गर्नु भन्दा पनि यसलाई दिगो बनाउनु पर्ने चुनौतीपूर्ण रहेको छ ।”

सेनेटरी प्याड मेसिनको (भेन्डिङ) कुश्मा नारी समूह अध्यक्ष अनिता सापकोटा चापागाईँ, धौलागिरि बहुउद्देश्यीय महिला विकास अध्यक्ष सरस्वती श्रेष्ठ र शिसेफ महिला समूहकी कार्यवाहक अध्यक्ष विजया जोशीले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

उनीहरूले विगतमा कपडाका टालाहरू प्रयोग गर्ने गरेको स्मरण सुनाउँदै अस्पतालले महिनावारीको समयमा महिलाहरूलाई चाहिने अति आवश्यक कुरामा ध्यान दिएकोमा खुसी व्यक्त गरे । अस्पताल विकास समितिका अध्यक्ष गिरीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको सञ्चालन अस्पताल प्रशासनका मेडिकल रेकर्डर प्रकाश सुवेदीले गरेका थिए ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com