पर्वत । डेढ दशक अघि नेपाली लोकसंगीतमा गायक तथा सर्जक बिमलराज क्षत्रीको लोकप्रियता र चर्चाले शिखर छोएको थियो । उनको सृजनाले लोकगीतका पारखीहरूलाई मन्त्रमुग्ध बनाउने गर्थ्यो । सर्जक क्षेत्रीले बजारमा ल्याउने हरेक गीतहरूलाई श्रोता र दर्शकहरूले मन पराइदिन्थे ।
उनै गायक तथा सर्जक क्षत्री पछिल्ला वर्षहरूमा लोकसंगीतको दुनियाँमा त छन्, तर, चर्चा र लोकप्रियता भने पहिले जस्तो छैन । “म सङ्गीतको साधनामा नै थिएँ । हराएको चाहिँ होइन । अब निरन्तर लोकगीतहरू बजारमा ल्याउँछु ।”, क्षत्रीले भने ।
सङ्गीतको सिकाइ र साधनामा लागेको बताउने उनले यति बेला “घर त पर हो” बोलको गीत आफ्नै बिमलराज क्षेत्री नामक युट्युब च्यानलबाट सार्वजनिक गरेका छन् । उनका अनुसार १५ वर्षपछि यस गीतमा आफ्नै शब्द, सङ्गीत, स्वर र गीतको भिडिओमा आफै अभिनय समेत गरेका छन् ।
दुई दशक अघि “बल्लै भो भेट” गीतबाट चर्चामा आएका क्षत्रीको रानीघाटैमा, मधुबनैमा, जापान टोकियो, ए हजुर एक्लो परानी, हिमाल सेतै छ लगायत दर्जन बढी गीतहरूले श्रोतामाझ बलियो स्थान जमाउन सफल भएको थियो । पर्वत घर भएका उनले गीतसङ्गीतमा लाएर आफ्नो आर्थिक हैसियत राम्रो बनाउनुका साथै प्रशान्ती क्यासेट सेन्टर पनि सञ्चालनमा ल्याएका थिए ।

“२०६४ सालमा अन्तिम पटक मेरो आफ्नै लय, शब्द र स्वरमा “डुल्छु रन वन” गीतमा मोडलिङ गरेको थिएँ । अहिले १५ वर्षको अन्तरालमा “घर त पर हो” गीतबाट फेरि मोडलिङमा पनि फर्केको छु ।”, उनले भने, “यात्रा सहज नहुँदो रहेछ । अप्ठ्याराहरू पनि आउने रैछन् । चर्चा र लोकप्रियता पनि सेयर बजारजस्तो हुँदो रहेछ कहिले हरियो त कहिले रातो । भाइरल भन्दा पनि आउँदो पुस्ताले पनि स्विकार्न सक्ने सृजना दिनुपर्छ भन्ने लाग्छ ।”
उनले बजारमा ल्याएको गीत राम्रो हुँदाहुँदै पनि सोचेजस्तो चर्चा पाउन चाहिँ सकेको देखिँदैन । शब्द, लय र स्वर उनकै रहेको यस गीतको महिला आवाजमा टिका कुमारी क्षत्रीले साथ दिएकी छिन् । भिडिओको निर्देशन उदिराम खड्काले गरेका छन् भने अभिनय कविता गलाल, उदिराम खड्का, टिका कुमारी क्षत्री र उनै गायक क्षत्रीको रहेको छ ।