Home Social पर्वतः मेडिकलहरुको मनलाग्दी, नियमन कसले गर्ने ?

पर्वतः मेडिकलहरुको मनलाग्दी, नियमन कसले गर्ने ?

by ईलालटिन
0 comment

महेन्द्र जिसी
पर्वत । पर्वतका अधिकांश मेडिकल सञ्चालकहरूले आवश्यक योग्यता र दक्षता बिना नै औषधी पसल सञ्चालन गर्नुका साथै मानव स्वास्थ्य परीक्षण गर्ने गरेको पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय पर्वतका अनुसार मेडिकल र सञ्चालनमा रहेका निजी अस्पतालहरूले आवश्यक मापदण्ड पुरा नगरी मानिसको स्वास्थ्य परीक्षण र उपचार गर्दै आएका छन् ।

मेडिकल ऐनमा कुनै पनि मेडिकलले विज्ञापन गर्न नपाइने कानुनी व्यवस्था भए पनि यहाँ सञ्चालित मेडिकल हल र अस्पतालहरूले कानुनको धज्जी उडाउँदै विज्ञापन गर्ने र सर्वसाधारण ठग्ने गरेको गुनासोहरू धेरै आएको जिल्ला जनस्वास्थ्य कार्यालयको भनाइ छ ।

जनस्वास्थ्यका अनुगमन अधिकृत नारायण रेग्मीले कानुनी विपरीत कार्य गर्नेहरूलाई आवश्यक कारबाही गरिने बताए । “स्वास्थ्य सेवा प्रदायक संस्थाहरू पहिले दर्ता हुनु पर्छ ।”, उनले भने, “सेवा दिने नाममा कुनै पनि मेडिकल क्लिनिकहरूले विज्ञापन गर्न पाउँदैनन् । त्यो नियम विपरित हुन्छ । यदि त्यस्तो भइरहेको छ भने कारबाही हुन्छ ।” जनस्वास्थ्य अधिकृत रेग्मीले विज्ञापन गर्नेलाई कारबाही हुने बताए पनि मेडिकल सञ्चालकहरूले खुलमखुला विज्ञापन भइरहँदा कारबाही गर्ने साहस गरेको चाहिँ देखिँदैन ।

आवश्यक मापदण्ड बिना नै मुटु जाँच, पायल्स फिस्टुला अपरेसन ,ई .सि. जि, एक्स-रे, गर्भ परीक्षण, भिडियो एक्स-रे र विभिन्न ल्याब परीक्षणजस्ता सेवाहरू निजी स्वास्थ्य सेवा प्रदायक संस्थाले दिँदै आएको भए पनि यिनीहरूको आवश्यक अनुगमन र नियमन हुन सकेको देखिँदैन । स्थानीय सरकारकै बेवास्ताका कारण स्थानीय तह कार्यान्वयन भएको पाँच वर्ष बितिसक्दा समेत एक पटक पनि अनुगमन हुन नसक्नुले स्थानीय सरकारको गैरजिम्मेवारिता देखिन्छ ।

यता जिल्लामा लामो समयदेखि सञ्चालित मेडिकल हलका सञ्चालकहरूले नेपाल सरकारको मापदण्ड पुरा नगरेको सहजै बताउँछन् । गुप्तेश्वर मेडिकल हलका सञ्चालन कृष्ण खनालले सरकारी निकायले नै मापदण्ड पुरा नगरेका कारण आफुहरुले पनि सरकारी मापदण्ड पुरा नगरेको बताए । “सरकारले नियम एकातिर बनाउँछ । त्यो अनुसार हामी सञ्चालनमा आएका क्लिनिकहरूले मापदण्ड पुरा गरेका छौँ भन्ने छैन ।”, उनले भने, “कतिपय सरकारी अस्पतालहरूले त सरकारको नियम अनुसार सेवा दिन सकिरहेका छैनन् ।”

एक्स-रे र ई सिजी जस्ता स्वास्थ्य परीक्षण गर्दा मेसिनबाट उत्पन्न विकिरणले स्वास्थ्य मानिसमा समेत असर पु¥याउने स्वास्थ्य क्षेत्रका जानकारहरूले बताउने गरेको भए पनि जिल्लामा सञ्चालनमा रहेका मेडिकल हल र निजी अस्पतालहरूले मापदण्ड पुरा नगरेको बताएका हुन । पाँच वर्ष देखी अनुगमन नै नगरेका सरकारी निकायले आवश्यक अनुगमन गरेर मापदण्डको दायरामा ल्याउन सकेमा सर्वसाधारणले राम्रो स्वास्थ्य सेवा पाउने औषधि व्यवसायी समिति पर्वतका अध्यक्ष राजेश पौडेलले बताए ।

“बजारमा कुन स्वास्थ्य संस्था दर्ता भएको छ, छैन भन्ने कुरा हामीले हेर्ने होइन । सम्बन्धित निकायले हेर्ने विषय हो ।”, उनले भने, “हामीसँग अनुबन्धित भएका मेडिकलहरू सबै दर्ता भएका र नेपाल सरकारका मापदण्ड पुरा गरेका छन् । त्यो भन्दा अरुले औषधी पसल खोलेर बस्दैमा हाम्रो संस्थामा सहभागी हुन पाउँदैनन् ।”

जनताका जीवनसँग प्रत्यक्ष जोडिएको औषधी व्यवसाय सञ्चालनका लागि औषधी व्यवस्था बिभागले तोकेको न्यूनतम मापदण्डहरू कार्यान्वयन नगरी सञ्चालनमा आए पनि नियमनकारी निकायको मौनताले जोखिम बढाएको स्थानीयको गुनासो बढ्न थालेको छ । यतिसम्म की जिल्लामा आयुर्वेदिक पसल दर्ता गरेर एलोपेथिक औषधि विक्री गर्ने तथा मेडिकल दर्ता गरेर आयुर्वेदिक औषधि विक्री गर्ने प्रचलन रहँदै आएको छ ।

आम सर्वसाधरणको स्वास्थ्यमाथि लापरबाही भइरहेको प्रस्ट देखिए पनि जिल्लाका नियमनकारी निकाय चाहिँ मौन देखिन्छन् । सदरमुकाम कुश्मामा मात्रै दुई निजी अस्पताल छन् भने दुई दर्जनको हाराहारीमा निजी मेडिकल हलहरू सञ्चालनमा रहेका छन् ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com