पर्वत । पर्वतको कुश्मा नगरपालिका–१० मा रहेका सबै सामुदायिक विद्यालयहरूबाट विद्यार्थी र शिक्षकहरूको रक्त समूह पहिचान गरी परिचय–पत्र वितरण गर्ने कार्यको सुरुवात गरिएको छ ।
आइतबार पर्वत अस्पताल, कुश्मा नगर स्वास्थ्य शाखा र पिपलटारी स्वास्थ्य चौकीको प्राविधिक सहयोग र सहकार्यमा पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजले पिपलटारी पूर्णेश्वर माध्यमिक विद्यालयबाट रक्त समूह पहिचान थालेको हो ।
“हामीलाई जति बेला पनि रगतको आवश्यकता पर्न सक्छ । कसैको रगतकै कारण मृत्यु हुन सक्छ । कसैलाई तत्काल फ्रेस रगत नै उपलब्ध गराउनुपर्ने हुन्छ । तर हामीसँग भएको रगत नै पहिचान भएको छैन भने हामी कसरी रगत उपलब्ध गराउन सक्छौँ ?”, पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजका अध्यक्ष राजु पौडेलले भने, “आफ्नो रगत समूह बारे कम्तीमा आफूलाई त थाहा होस् भन्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरेका हौँ ।”
सिद्धेश्वर प्राथमिक विद्यालयका प्रधानाध्यापक केशव पौडेल र पूर्णेश्वर मावि कक्षा ११ की छात्रा कामना लामिछानेको रक्त समूह पहिचान गरी परिचय–पत्र उपलब्ध गराएको पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजका सचिव सन्तोष पौडेलले बताए ।

“हामीले बाल कक्षादेखि १२ कक्षासम्मका विद्यार्थीहरूलाई रक्त समूह पहिचानको कार्यक्रम राखेका छौँ ।”, उनले भने, “वडा भित्रका ६ विद्यालयमा अध्ययनरत विद्यार्थी र शिक्षकलगायत करिब १ हजार जनाको रक्त समूह पहिचान गरी परिचय–पत्र उपलब्ध गराउने छौँ ।”