खेमराज गौतम
बागलुङ । साहित्यकार गणेशकुमार जिसीद्वारा लिखित अरनिको एसिया एक प्रस्तावना पुस्तकमाथि विमर्श भएको छ ।
कुश्मा कला परियोजनाको आयोजनामा माझगाउँ स्थित शताब्दी घरमा आयोजित पुस्तकमाथि विमर्श र लेखक तथा पाठकबिच संवाद गरिएको छ । कार्यक्रममा साहित्यकार इन्द्रमान खत्रीले लेखकले गम्भीर र मौलिक विषयमा कलम चलाएको र नयाँ पुस्ताले अरनिको विषयमा पढ्न र बुझ्न पुस्तक गहकिलो सन्दर्भ सामाग्री हुने विचार व्यक्त गर्नुभयो ।
नेपालका ७९ जनाको कालिगडको नेतृत्व गरेर सुरुमा तिब्बतमा रहेको शाक्य गुम्बाको स्वर्ण चैत्य र पछि मङ्गल साम्राज्यका राजा कुब्लाईखानकोमा
गएर अरनिकोले जुन कला प्रदर्शन गर्नुभएको थियो त्यसको गहिरो अनुसन्धान गरेर लेखकले पुस्तकमा उतारेको साहित्यकार जिसीले बताउनुभयो ।

मध्यकालीन काठमाडौँ उपत्यकामा जन्मेर राजा जयभीमदेवको पालामा सन् १२६१ मा तिब्बत र चीन गएर अरनिकोले भित्ते चित्र, चैत्य, बौद्ध बिहार, दरबार र मन्दिर निर्माण गरी एसियाभरमा कलाको प्रसार गरेको पुस्तकमा लेखकले मेहनतसाथ उतारेको साहित्यकार तथा नयाँ विश्वका सम्पादक मुकेश राजभण्डारीले प्रकाश पार्नुभएको थियो ।
लेखक गणेशकुमार जिसीले अरनिकोको बारेमा धेरै सामाग्रीहरू खोज्दा बि.स २०४४ सालमा सत्यमोहन जोशीले प्रकाशन गरेको अरनिको जीवनी बाहेक अन्य प्रकाशन सामाग्री फेला नपारेपछि अरनिको बारेमा जान्ने र बुझ्ने हुटहुटीले लेखन यात्रा अगाडि बढाउँदा पुस्तक यो रूपमा आएको अनुभव सुनाउनुभयो ।
अरनिको सामान्य कलाकार मात्र नभएर उनको कला यात्रा वृहत् भएको, चित्रकला, वास्तुकला, मूर्तिकला तथा वैज्ञानिक समेत भएको हुनाले अरनिकोलाई हामीले वृहत् रूपमा बुझ्नु पर्ने र खोज्नुपर्ने बेला आएको लेखक जिसीले पुस्तक विमर्श कार्यक्रममा बताउनुभयो ।
अमेरिकन लेखक आनिजिङ आफ्नो अनुसन्धान पत्रमा अरनिकोलाई ‘बुनिलेस्सी’, ‘माइकेलएन्जेलो’ र ‘लियोनार्दोदा भिन्ची’ सँग तुलना गरेको हिसाबले अरनिको प्रतिभा र योगदान अतुलनीय भएको पुस्तक लेख्ने क्रममा आफूले अनुभूति गरेको साहित्यकार जिसीले बताउनुभयो ।
२०३१ सालमा पर्वत जिल्लाको गिज्याङ गाउँमा जन्मनुभएका जिसीले नेपाली कला, साहित्य, संस्कृति, इतिहास, पुरातत्त्व र अन्तर सांस्कृतिक अध्ययनमा रुचि लिने स्रष्टा हुनुहुन्छ । उहाँको अहिले सम्म चार वटा एकल प्रदर्शनी, देश विदेशमा गरी तीन दर्जन कला प्रदर्शनी, २०६४ सालमा ‘अग्नि यात्रा कविता सङ्ग्रह’ र २०६८ सालमा ‘सीमान्त अक्षर’ संयुक्त कविता सङ्ग्रह प्रकाशित छन् ।
पुस्तक विमर्श कार्यक्रममा लेखक, साहित्य अनुरागी, कला प्रेमीहरू र जिज्ञासु विद्यार्थीहरूले पुस्तक र लेखकसँग प्रश्न र जिज्ञासा राखेका थिए । तीन दशकदेखि साहित्य क्षेत्रमा संलग्न जिसी हाल युर्निभर्सल कलेज काठमाण्डौको ललितकला विभागसँग आबद्ध हुनुहुन्छ ।
नेपाल ललितकला प्राज्ञ प्रतिष्ठानले प्रकाशित गरेको अरनिको एसिया एक प्रस्तावना पुस्तकको १५५ पृष्ठको पुस्तक प्रकाशित छ । कार्यक्रम कुश्मा कला परियोजनाका अध्यक्ष आरके आदिप्त गिरीको सञ्चालनमा सम्पन्न भएको थियो ।
