पर्वत । निर्वाचन आयोगले नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका अर्जुनप्रसाद जोशीलाई आचारसंहिता सुरु हुनु भन्दा पहिलेकै कार्यक्रमलाई लिएर स्पष्टीकरण माग गरेको पाइएको छ ।
आसन्न ४ मङ्सिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको आचारसंहिता असोज १२ गतेबाट सुरु भए पनि भदौ २४ को कार्यक्रमका विषयमा स्पष्टीकरण माग गरेको पाइएको हो ।
उम्मेदवार जोशीले कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्कमा २०७९ भदौ २४ गते बिपी जयन्तीका दिन पञ्चकोशी माविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको विषयलाई लिएर आयोगले स्पष्टीकरण सोधेको हो । जोशीले जिल्ला निर्वाचन कार्यालयमा मङ्गलवार सोधिएको २४ घण्टे स्पष्टीकरणको जवाफ बुधवार पेस गरेका छन् ।
आचारसंहिता लागु हनुअगाडिको कार्यक्रमको विषयमा आफूलाई आयोगले स्पष्टीकरण सोधेकोमा जोशीले आश्चर्य प्रकट गर्नुभएको छ । “मेरो जनलहर देखेर विरोधीहरू अतालिएका छन् ।”, उनले भने, “मेरो चरित्र हत्या गर्ने उद्देश्यले एक महिना अघि सम्पन्न कार्यक्रमको विषयमा उजुरी गर्नेलाई कडा भन्दा कडा कारबाही गरिनुपर्छ ।”

आयोगमा गरिएको उजुरी उपर गहिरो अध्ययन नगरी स्पष्टीकरण सोधिएपछि आयोगप्रति प्रश्न उठेको छ । आयोगले जोशीलाई सोधेको स्पष्टीकरणमा कानुन अधिकृत मोहनराज जोशीको हस्ताक्षर छ ।