150
अर्काइभ
पर्वत। धेरैलाई सुख रोज्ने की दुःख भनेर सोध्दा सजिलै सुख भन्ने उत्तर दिन्छन् । त्यसो त अहिलेको जमानमा कसैले पनि चाहेर दुःख गर्न रुचाउंदैनन । गाउँमा बस्दा बस्दै आर्थिक अवस्था बलियो बने सुखकै लागि गाउँको रमाइलो छाडेर सहर जान सम्म कोही पछि पर्दैनन् । तर पर्वतमा भने फरक–फरक क्षेत्रमा लागेर चार जनाले आफ्नो सुख भन्दा समाजको हितमा समय खर्चिई रहेका छन् ।
शिक्षा,कृषि,र स्वास्थ्य र समाज सेवाको क्षेत्रमा सक्रिय भई उनीहरू सिङ्गो जिल्लालाई परिवर्तन गर्ने पथमा छन् । चाहे दशककै किन नवितोस । जसका लागि उनीहरू सहर र विदेशको खुसी त्याग्दै एउटै अभियानका साथ नयाँ कामको सुरुवात गरी रहेका छन् । जसको गतिलो उदाहरण बनेका छन् सामाजिक अभियन्ता एवं राजनीतिज्ञ ऋषिकेश तिवारी । उमेरले वृद्ध अवस्था टेक्दै गएका तिवारी पर्वतलाई लप्सी जिल्लाको रूपमा परिचित गराउन चाहन्छन् । जसका लागि अहोरात्र उनी यही कार्यमा सक्रिय छन् ।
मुडिकुवा गाविसमा उनले आफ्नै गाउँबाट लप्सी खेतीको सुरुवात गरेका हुन् । उनी श्रीमतीको जागिरले गर्दा आधा समय काठमाडौँमा बिताउँछन् भने आधा समय आफ्नै जिल्लामा । काठमाडौं बस्दा उनी लप्सीकै बारेमा प्रचार प्रसारमा व्यस्त बन्छन् । राजनीति सँगै कृषिमा हात हालेका उनी अहिले राजनीति भन्दा लप्सीको प्रवर्द्धनमा बढी सक्रिय छन् । ‘अब राजनीतिमा फुस्रा भाषण गरेर पुग्ने वाला छैन,’उनले भने,‘राजनीति गर्नेले भाषण गरेर होइन काम गरेर देखाउनु पर्छ ।’
उनले लप्सीको अङ्ग्रेजी अर्थ नभए पनि अन्तर्राष्ट्रिय बजारमा यसको माग दिन प्रतिदिन बढ्दो रहेको बताए । ‘मेरो गाउँमा आर्थिक स्तर कमजोर भएका सर्ब साधरणको बसोबास उच्च छ,’उनले भने,‘त्यही भएर लप्सीलाई प्रमुख आम्दानीको स्रोत बनाएर उनीहरूको आय स्तरमा परिवर्तन गर्न चाहन्छु ।’ उनले बिदेसिन लागेका युवाहरूलाई समेत लप्सीले रोजगारीको स्रोत बनाएर गाउँमै बस्ने अवस्था सिर्जना गराएका छन् । ०५७ सालबाट उनले जिल्लामा पहिलो पटक लप्सीको व्यावसायिक खेती सुरु गरेका हुन् ।
लप्सीका परिकारहरू नेपालका विभिन्न जिल्ला सँगै अमेरिका,जापान,कतार,दुवै लगायत देशमा जाने गरेको छ । उनले गाउँमै लप्सी उद्योग स्थापना गरी गाउँलेलाई रोजगारी दिएका छन् । ‘म पर्वत जिल्लालाई लप्सी जिल्ला बनाएरै छाड्छु,’ ५७ वर्षीय तिवारीले भने, ‘त्यसका लागि जति समय लाग्छ लागोस् ।’ पर्वतका ५५ गाविस मध्ये ३५ गाविसमा लप्सी हुन्छ । अहिले ५ गाविसवासीले खेत बारी नै मासेर यो व्यवसाय गरेका छन् । विश्वमा दुर्लभ मानिने यो फल लगाउन गाउँले पनि सक्रिय छन् ।
‘यत्रो उमेर त कृषि भन्दा भन्दै गयो,’उनले भने,‘त्यही भएर जिल्लालाई लप्सीको जिल्ला बनाएर नयाँ कृषि क्रान्ति गर्न चाहन्छु ।’ उनले अङ्ग्रेजी सङ्कायमा एमए गरेका छन् ।
दश वर्ष अघि कान्तिपुर पत्रिकाको लागि बिमल खतिवडाले ऋषिकेश तिवारीसहित अन्य तीन जनाको विषयमा तयार पारेको सामग्रीबाट तिवारीको बारेमा मात्र लेखिएको विषयवस्तुलाई लिएका हौँ ।
नोट: केही वाक्य र समाचारको हेडलाइन परिवर्तन गरेका छौँ ।