पर्वत । एउटा मात्रै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा २०७४ कै प्रतिस्पर्धीबिच पुनः चुनावी मैदानमा उत्रिएका छन् । सत्ता गठबन्धन दलका काँग्रेस उम्मेदवार अर्जुन प्रसाद जोशी र नेकपा एमालेका पदम गिरीबीच भिडन्त हुने भएको छ । जोशीलाई गिरीसँगको हारको बदला र गिरीलाई जितको विरासत जोगाउनु पर्ने चुनौती उनीहरूमा देखिन्छ ।
हुन त यस निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका जाल बहादुर पुर्जा पुन, राप्रपाका ठाकुर प्रसाद भुसाल, राष्ट्रिय जनमुक्तिका बल बहादुर थापासहित १२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । तर, २०७४ को प्रतिनिधि सभा सदस्य र गएको स्थानीय चुनावको नतिजा हेर्दा मुख्य प्रतिस्पर्धा चाहिँ नेपाली काँग्रेस र नेकपा एमालेबिच नै हुने देखिएको छ ।
२०५६, २०६४ र २०७० सालमा तीन पटक चुनाव जितेर ह्याट्रिक गर्नुभएका काँग्रेस उम्मेदवार जोशीलाई २०७४ निर्वाचनमा नेकपा एमालेका गिरीले लगभग १३ हजार मतान्तरले पराजित गरेका थिए । त्यति बेला नेकपा माओवादी सहितको बाम गठबन्धन दलको सहयोगमा गिरीले ३९ हजार २ सय ७५ मत मत प्राप्त गरेकोमा पराजित जोशीले चाहिँ २६ हजार ८ सय १९ मत पाएका थिए । कुल ६७ हजार ६ सय ८२ मत खसेकोमा जोशी र गिरीबिचको जित हारको मतान्तर १२ हजार ४ सय ५६ रहेको थियो ।
“पहिले बाम गठबन्धनसँग एक्लै चुनावमा भिडेका कारण हारेको थिएँ ।”, काँग्रेस उम्मेदवार जोशीले भने, “अहिले त्यही बाम गठबन्धनसहितका दलहरू हामीसँग छन्, यो मेरो जितको पहिलो आधार हो । प्रतिस्पर्धी भन्दा १३ हजार मत बढी ल्याएर चुनाव जित्छु ।” नेकपा एमालेका उम्मेदवार गिरीले पनि आफू “चुनाव जित्नेमा ढुक्क छु”, भन्छन् । “हाम्रा विकासका कामहरू पर्वतेली जनताले हेरेका छन् ।”, उनले भने, “मेरो प्रतिस्पर्धीलाई १० हजारको फराकिलो मतले हराउँछु ।”

पर्वतमा दुई नगरपालिका र पाँच गाउँपालिका गरेर जम्मा सात पालिकाहरू रहेका छन् । स्थानीय चुनावको नतिजालाई पछ्याउँदा पाँच पालिकाहरूमा नेपाली काँग्रेसले नेतृत्व गरेको छ । काँग्रेसले जिल्लाको दुई वटै नगरपालिका कुश्मा र फलेवास जितेको थियो भने तीन गाउँपालिका जलजला, बिहादी र पैयूँमा पनि काँग्रेसले नै जितेको थियो । काँग्रेसले जितेका पालिका प्रमुख र पराजित दुई पालिका मोदी र महाशिला गाउँपालिकाको मत सङ्ख्या समेत जोड्दा गठबन्धन दलले पाएको जम्मा मत ३७ हजार ४ सय ८५ हो ।
नेकपा एमालेले दुई गाउँपालिका मोदी र महाशिला जितेको थियो । उसले पाएको जम्मा मत ३४ हजार ६ सय ६२ रहेको छ । यसलाई हेर्दा सत्ता गठबन्धन दल र नेकपा एमालेको जम्मा फरक मत २ हजार ८ सय २३ देखिन्छ । यस्तै राप्रपासहित अन्य उम्मेदवारले पनि १ हजार ४ सय ५९ मत प्राप्त गरेका थिए । वडा तहमा भने नेकपा एमालेले ६१ वडा मध्ये ३३ वडा जितेको थियो भने काँग्रेसले २४ वडा जितेको थियो । यसै गरी माओवादी केन्द्रले ३ वटा वडा जित्यो भने एउटा वडामा चाहिँ स्वतन्त्रले जितेका थियो ।
गठबन्धन दलले अपिल–पत्र भनेर निकालेको छ । त्यसमा आगामी दुई वर्ष भित्रमा भूमिहीनताको अन्त्यदेखि हरेक स्थानीय तहमा एउटा वारुण यन्त्र र एउटा एम्बुलेन्सलाई अनिवार्य गरिने लेखेको छ भने प्रत्येक वडामा विपद्का बेला सुरक्षित रहन सकिने सेन्टर र सार्वजनिक भवन, एउटा हेलिप्याड समेत निर्माण गरिने भनिएको छ । २५ बुँदे अपिल पत्रमा प्रत्येक नगरपालिकामा २५ देखि ५० शय्याको अस्पताल र प्रत्येक गाउँपालिकामा १५ देखि २५ शय्याको अस्पताल निर्माणको कुरा पनि समेटिएका छन् ।
“म सांसद हुँदा धेरै गाउँमा बिजुली थिएनन्, सडकहरूको ट्र्याक खोलिएका थिएनन् पछि २०७० सालसम्म सबै ठाउँमा बिजुलीको पहुँच बढाउने काम भयो ।”, प्रतिनिधि सभा सदस्य उम्मेदवार जोशीले भने, “ खानेपानी सापटी मागेर खानुपर्ने अवस्था पनि थियो, तर, अहिले पर्वतका घरघरमा धारा पुगेको छ । पहिले मेरो प्राथमिकता गाउँका विकास मात्र थियो, अब भने रोजगारमा ध्यान दिनेछु ।”
नेकपा एमालेले घोषणा–पत्र बिनै मतदातासँग मत मागिरहेको छ । “हामीले तीन वर्ष सरकार सञ्चालन गर्दा गाउँ गाउँमा मोटर बाटो पु¥यायौँ, अब किसानको उत्पादनलाई बजारसम्म जोड्ने कामको सुरुवात हामीले गर्नेछौँ ।”, गिरीले भने, “पर्यटनलाई बढवा दिन पोखरादेखि पर्वतसम्म सुरुङ मार्ग निर्माण गर्नेदेखि हजारौँ युवाहरूलाई रोजगार उपलब्ध गराउन कालीगण्डकी बहुउद्देश्यीय परियोजनामा सफल बनाउने लाग्नेछौँ ।”