पर्वत । मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको निर्वाचनको लागि पर्वतमा आइतबार मनोनयन दर्ता प्रक्रिया उल्लासजनक रूपमा सम्पन्न भएको छ ।
एउटा मात्रै प्रतिनिधि सभा क्षेत्र रहेको पर्वतमा यस पटक गठबन्धनबाट नेपाली काँग्रेसका निवर्तमान केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले उम्मेदवारी दिनुभएको छ भने प्रदेशसभा (क)मा माओवादी केन्द्रका सुदिप कुँवर र प्रदेशसभा (ख) मा ऋषिकेश तिवारीले मनोनयन दर्ता गराएका छन् । त्यसै गरि नेकपा एमालेको तर्फबाट केन्द्रीय सदस्य पदम गिरीले प्रतिनिधिसभा र प्रदेश सभा (क)मा भक्त कुँवर र (ख)मा मित्रलाल बस्यालले मनोनयन दर्ता गराएका छन् ।
नेकपा एमाले र नेपाली काँग्रेस सहितको माओवादी केन्द्र गठबन्धनको मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । जस अनुसार नेकपा एमालेबाट पदम गिरीले प्रतिनिधि सभा सदस्यमा मनोनयन दर्ता गराउनुभएको छ भने पर्वतमा आइतबार सम्पन्न मनोनयन दर्ताका क्रममा विभिन्न ९ राजनीतिक दलले प्रतिनिधि सभा सदस्य, ५ राजनीतिक दलले प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. १ र विभिन्न ४ राजनीतिक दलले प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. २ मा उम्मेदवार तय गरेका छन् । प्रतिनिधि सभा सदस्य तर्फ ३ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् भने प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. २ मा ३ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले जानकारी दिएका छन् ।

अन्य साना राजनीतिक दलहरूले भने आचारसंहितालाई पालना गर्दै मनोनयन दर्ता प्रक्रियामा सहभागिता जनाएका थिए । पर्वतमा नेकपा एमाले, नेपाली काँग्रेस, माओवादी केन्द्र सहित राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल सुशासन पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, नेपाली काँग्रेस विपी र हाम्रो नेपाली पार्टीले विभिन्न पदमा उम्मेदवारी दिएका छन् ।