पर्वत । मंगलवार साँझदेखि लगातार परेको बर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोकमार्गको अवरुद्ध बनेको छ । पहिरोले पर्वत–बागलुङ सडक खण्ड र मालढुंगा–बेनी सडक अवरुद्ध गराएको हो ।
पर्वतको कुस्मा नगरपालिका वडा नं १ सहस्रधारामा पहिरो जाँदा मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड र पर्वतको जलजला गाउँपालिका वडा नं ८ फर्सेमा खोलामा गेग्रान बगेर आएका कारण सडक अबरुद्ध बनेको हो ।
सडक अवरुद्ध हुँदा साविक धौलागिरिका बागलुङ, म्याग्दी र मुस्ताङका लागि आएका सवारी साधनहरु नयाँपुलमा अलपत्र बनेका छन् भने ती जिल्लाबाट पोखरा, काठमाण्डौका लागि छुटेका सवारीसाधनहरु मालढुंगा र फर्सेमा अलपत्र बनेका छन् ।
पहिरो पन्छाउने काम भैरहेको भएपनि पानी पर्न नरोकीएका कारण अवरुद्ध सडक कुनबेला खुल्छ ठ्याक्कै भन्न नसकिने जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक बुद्धिप्रसाद सुबेदीले जानकारी गराए ।

सहस्रधारामा पहिरो गएका कारण दुई सातादेखि सामान्य वर्षा हुने वित्तिकै पनि पटक पटक सडक अवरुद्ध हुने गरेको छ । मंगलवार साँझदेखि अबरुद्ध भएको सडक बुधबार दिउँसो ४ बजे एकतर्फी सञ्चालनमा आएको थियो ।