Home कला डा.पागल..!!!

डा.पागल..!!!

by ईलालटिन
0 comment

Table of Contents

सरोज पन्थी

ऊ पागल हो
उसको कुनै गाउँ छैन
उसको नाउँ डाक्टर हो
तर उसको आकार छैन
न उसको ठेगाना छ
न उसको आफ्नो ठेगान छ
ठेगान नहुनेहरूलाई यो शहरले पनि त ठेस लगाउँदो रैछ..!!

ऊ कहिले पुग्छ पूर्व त कहिले पश्चिम
कहिले मेची त कहिले महाकाली
कहिले सुदुर त कहिले सदरमुकाम
कहिले हुम्ला त कहिले जुम्ला
कहिले बाँझकोट त कहिले जाजरकोट
उसको कुनै पहिचान छैन
पहिचान नहुनेहरूलाई यो शहरले पर धकेल्दो रैछ.!!

ऊ भन्छ म मर्छु जनताकै लागि मर्छु
उसका लागि मर्ने जनता छैन
ऊ भन्छ म टाल्छु मुटुकै प्वाल
तर उसको सर्टको प्वाल टाल्ने सूचिकार छैन
ऊ एक्लो भुनभुनाउँदै हिँडिराखेको मौरी हो
ऊ एक्लो सुम्सुमाउँदै बहिरहेको बतास हो
कसैले बैचनीको सास फेर्दा
उसले हावाको एक झोक्काले फोक्सोमै हान्छ
कसैले जीवनको अन्तिम सास फेर्दा
उसले हावाको मधुरताले जीवनको जीउँमा हान्छ
भिखारीको भित्तोमा भाँसिएका जीवनका रङ्गहरू
उसले, इन्द्रेणीको आकारमा भेट्छ
तर पनि,
उसको जीवनको कुनै रङ्ग छैन
रङ्ग नहुनेहरूलाई यो शहरले खेर गएको भन्दो रैछ.!!

ऊ एक्लै लड्छ
कहिले सरकारको निरंकुशतासंग लड्छ
कहिले भ्रष्टाचारीको घार फोर्छ
ऊ बस्छ भोको पेट
र बोल्छ भोकै भएकाहरूको भाषा
नाङ्गाहरूको नशा
अपाङ्गहरूको दशा
गरिबहरूको आशा
टुहुरोहरूको भाषा
ऊ हट्दैन पछि हारेको सिंह जस्तो
ऊ बढ्छ अघि हार्दैन त्यति सस्तो
ऊ अटल छ देशकै सगरमाथा जस्तो
ऊ शान्त छ,इतिहासको बुद्ध जस्तो
उसले नहार्दा हार्दै पनि यहाँ एउटा जमात उसको पछि लागेको छ
हारोस् उसले भन्दै राजनीतिको नारा घन्केको छ
उसको पछि लागेका राजनीतिक चाप्लूसीहरूलाई
सायद यो थाहा छैन
ऊ बनेको पानी सगरमाथाको पँधेरोबाट आएको हो
ऊ बहेको हावा राराबाट बहेर आएको हो
ऊ सिङ्गो तराई हो
ऊ सिङ्गो पहाड हो
ऊ सिङ्गो हिमाल हो
उसलाई पागल भनेर खुट्टा बझार्नेहरू अचेत छन्
हिमाल, पहाड र तराई मिलेको नेपाल हो
र नेपालले कसैका अगाडि झुकेको इतिहास छैन
र ऊ पनि पागल डाक्टरहरूको एउटा इतिहास हो
यो शहरले उसलाई पागल भनोस
वा उसलाई पागल देखोस
म भन्छु ऊ त इतिहासको आवेग हो
आवेग हुनेहरूलाई यो शहरले पागल बनाउँछ
म भन्छु
ऊ त इतिहासको पागल डाक्टर हो
जसले जीवलाई जितिसकेको छ.!!!

ऊ पागल हो
झोलाभरि औषधीका बट्टा भर्छ
आखाँमा सादगीको रङ्ग भर्छ
र छिर्छ एउटा गाउँ
जहाँ खुलै हुन्छन,मुटुका प्वाल
जहाँ लावालस्कर हन्छन झाडाका पाउँ
उसले सियोले प्वाल टाले जस्तै
सजिलै भाँचिएको हात जोडिदिन्छ
दुखेको घाउँमा नुन लगाउँने सरकार उसको रमिता हेर्छ र
कटालेलाई डकालो पिट्न लगाउँछ

पागल बस्तीहरूमा एउटा पागल डाक्टर छिरेको छ “साबधान्”.!!!

दुखेको घाऊमा मलम लगाउँने डाक्टर यो देशमा कहिल्यै ठूलो हुन सकेन.!!
मार्सी खाएर देश बेच्ने नेता भन्दा,माडो खाएर देश बचाउँने गरिब यो देशमा कहिल्यै ठूलो हुन सकेन.!!

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com