Home समाचार रसिदकै भरमा सवारी चालक, रोकियो परीक्षणकालीन लाइसेन्स वितरण

रसिदकै भरमा सवारी चालक, रोकियो परीक्षणकालीन लाइसेन्स वितरण

by ईलालटिन
0 comment

काठमाडौं । काठमाडौं उपत्यकाका यातायात कार्यालयहरूले परीक्षणकालीन लाइसेन्स वितरण रोकेका छन् । बजेटको अभाव भएको भन्दै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) स्वरूप एक वर्षका लागि दिइने परीक्षणकालीन लाइसेन्स वितरण रोकिएको हो ।  यातायात व्यवस्था विभागका अनुसार काठमाडौंका सबै यातायात कार्यालयहरूले बजेट अभाव भएको भन्दै परीक्षणकालीन लाइसेन्स वितरण रोकेको जनाएको छ ।

विभागका महानिर्देशक नमराज घिमिरेले यातायात कार्यालयहरूमा परीक्षणकालीन लाइसेन्स प्रिन्ट र वितरण रोकिएकाले पुनः सवारी चालकहरूले परीक्षा पास गरी रसिदकै भरमा सवारी चलाउनुपर्ने बाध्यता आइलागेको बताए । प्रदेश-का यातायात कार्यालयहरू बजेटको अभावमा रोकेको वितरण विभागले भने उपलब्ध गराउन सक्ने क्षमता रहेको दाबी गरेको छ । लामो समयदेखि रसिदकै भरमा सवारी हाँक्ने चालकले परीक्षा पास गर्नेबित्तिकै परीक्षकालीन लाइसेन्स पाउँदा लाभान्वित भएका थिए ।

पानीले भिज्ने, च्यातिने, असुरक्षित, ट्राफिक प्रहरीले रसिद नमान्ने जस्ता समस्या समाधान भएका थिए । तर, पुन त्यही समस्या बल्झिएको छ । परीक्षणकालीन लाइसेन्सका प्रिन्ट र वितरणका लागि कुन कार्यालयलाई कति बजेट चाहिएको हो भन्ने कुरा विभागलाई जानकारी छैन । वागमती प्रदेशबाहेक अन्य प्रदेशबाट परीक्षणकालीन लाइसेन्स वितरण भइरहेको विभागले जनाएको छ । परीक्षणकालीन लाइसेन्स वितरणका लागि विभागले नै मेसिन र कार्ड उपलब्ध गराएको एकान्तकुना कार्यालयमा पनि रोकिएको छ ।

वाग्मती प्रदेश श्रम रोजगार तथा यातायात मन्त्रालयका अनुसार यातायात कार्यालयहरूले अहिले पुनः परीक्षणकालीन लाइसेन्सका लागि आउने सेवाग्राहीहरूलाई पहिलेजस्तै रसिद दिएर पठाउने गरेका छन् ।  यातायात कार्यालयको नियमन गर्ने विभाग नै परीक्षणकालीन लाइसेन्स वितरण रोकिएको विषयमा उदासीन देखिएको छ ।  यद्यपि, कार्यालयहरूका कर्मचारी भने यातायात कार्यालय र वागमती प्रदेशका टकराबका कारण सेवाग्राही प्रभावित बनेको बताएका छन् । वागमती प्रदेशबाट सीधै यातायात कार्यालयहरूमा बजेट आउने भएकाले प्रदेशले नै जिम्मा लिनुपर्ने विभागको भनाइ छ । अन्य जिल्लाभन्दा वागमती प्रदेशका सेवाग्राहीहरू बढी बिचौलियाको मारमा पर्नुपरेको छ ।

विभागले ०७८ साउनदेखि काठमाडौं उपत्यकाभिका यातायात कार्यालयहरूमा परीक्षणकालीन लाइसेन्स अनिवार्य गरेको थियो । विभागले परीक्षणकालीन समयावधि पूरा गरेका चालकहरूको स्मार्ट लाइसेन्स प्रिन्ट गरेर कार्यालयहरूमा पठाउने गरेको छ । तत्काल ट्रायल परीक्षा पास गरेका सेवाग्राहीलाई कार्यालयहरूले परीक्षणकालीन लाइसेन्स उपलब्ध गराइरहेको थियो । परीक्षणकालीन लाइसेन्स वितरणका लागि सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ५१ को परीक्षणकालीन लाइसेन्सअन्तर्गत नियमहरू बनेका थिए । उक्त नियमबमोजिम चालकले पाँचपटक वा सोभन्दा बढी उल्लंघन नगरे स्थायी सवारी चालक अनुमतिपत्र पाउने प्रावधान छ ।

वागमती प्रदेश श्रम रोजगार तथा यातायात मन्त्रालयका उपसचिव हरिहर पोखरेलले परीक्षणकालीन लाइसेन्समा यातायात कार्यालयहरूले धेरै खर्च निकाल्दा स्थगित गरिएको बताए ।  “यसमा पैसा बढी खर्च भयो भनेर बन्द गरिदिएको हो । तीन महिना ६ महिनामै अर्को कार्ड आउने भएकाले रसिदले काम गरिहाल्छ,” उनले भने, “परीक्षणकालीन लाइसेन्सको विकल्पमा अरू केही हुन्छ कि भन्नेबारे मन्त्रालयमा छलफल भइरहेको छ ।”

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com