Home विशेष सुन्दर शहर बनाउँदै बाग्लुङ्ग टेलिकम, तामाको तार सरसफाई थालियो

सुन्दर शहर बनाउँदै बाग्लुङ्ग टेलिकम, तामाको तार सरसफाई थालियो

by ईलालटिन
0 comment

बागलुङ । अघिल्लो वर्षदेखि सुरु भएको फाइवर जडानको काम सकेर नेपाल टेलिकमले बागलुङ बजारमा पुरानो तामाको तार विस्थापित गरेको छ । विस्थापित तारलाई व्यवस्थापनका लागि अहिले सफाई अभियान चलाएको छ । टेलिफोन र इन्टरनेटका लागि एडिएसएल प्रविधि अन्त्य गरेर नयाँ विधिमा सबैलाई लगिएको हो ।

छिटो इन्टरनेट चलाउने तथा बजारमा तारको फोहोर हटाउने गरी नेपाल टेलिकमले अघिल्लो वर्षदेखि फाइवर जडानको काम थालेको थियो । ‘अहिले बजारक्षेत्रका सबै टेलिफोन लाइन र इन्टरनेट प्रयोगकर्तामा फाइवर जडान भैसकेका छन्’ नेपाल टेलिकम बागलुङका प्रमुख केशव शर्माले भने, ‘अब साना बजारतर्फ यो अभियान अगाडि बढाइने छ ।’ बागलुङ बजारमा मात्रै टेलिकमले २ हजार २ सय टेलिफोन लाईनका लागि जोडेको तामाको तार हटाएको हो । ती सबै र थपसमेत गरी २ हजार ४ सय फाइवर इन्टरनेट जडान भैसकेका छन् ।

टेलिकमले कुश्मा, बेनी, जोमसोम, कागबेनी, पातीचौरमा पनि फाइवर नेट जडान गरिसकेको छ । बलेवा क्षेत्रमा पिस्तारको अभियान भैरहेको हो । तामाको तार विस्थापित भएपछि फाइवरमार्फत टेलिफोन र नेट चलाउँदा अवरोध कम हुने शर्माले बताए । ठूला सहरी क्षेत्रमा पनि यो अभियान थालिएको छ । तर ती स्थानमा दुवै प्रविधि बाँकी रहेकोले अव्यवस्थित तार हटाउने काम हुन सकेको छैन । ‘नेपाल भरमै सदरमुकामलाई फाइवरमय बनाइएको बागलुङसहित धौलागिरीका जिल्ला सदरमुकाम हुन्’ शर्माले भने, ‘यो विधिले उपभोक्ताको लगानी कम पर्ने, इन्टरनेटको उपयोग बढी र सस्तो दरमा हुने गर्छ ।’

ढोरपाटनमा गएको बाढी पहिरोको कारण ढोरपाटन र बोबाङ क्षेत्रमा टेलिफोन र इन्टरनेट अवरुद्ध छ । चार्जका लागि बिजुलीसमेत छैन । त्यसैले टेलिकमले तत्कालका लागि बोबाङ र ढोरपाटन क्षेत्रमा सानो आकारको चार्ज स्टेशनमार्फत नेट र टेलिफोन सेवा संचालनको तयारी गरेको छ । ढोरपाटन क्षेत्रलाइ लक्षित गरेर ३ सय वाटको ठूलो सोलारसमेत जडान गर्ने योजना उनले सुनाए । त्यसका लागि पर्याप्त जग्गा पनि आवस्यक पर्छ । उक्त जग्गा व्यवस्थापन भैरहेको छ ।

चीनको कम्पनीले ठेक्का लिएकोले प्राविधिक नाँप जाँच गर्न आएको टोली पर्वतको पहिरोको कारण सोमबार फर्केको थियो । आवस्यक परेमा आउने गरी पोखरामा फर्केको टोलीले मौषम सफा भएपछि ढोरपाटन पुग्ने लक्ष राखेको छ । स्थानीय लघुविद्युतहरु तत्काल बन्ने अवस्था भएमा ठूलो प्लान्ट ढोरपाटनमा राख्ने, तत्काल नबन्ने भएमा ठूलो प्लान्ट बोबाङमा राखेर ढोरपाटनमा १ सय २० वाटको सोलार जडान गरेर नेट चलाउने योजना टेलिकमले बनाएको हो । ढोरपाटनमा सिकार आरक्ष, नेपाली सेनाको व्यारेक, स्थानीय र तिब्बती शरणार्थीहरु छन् । भदौ १७ गतेदेखि ढोरपाटनमा पनि टेलिफोन र इन्टरनेट अवरुद्ध भएको छ ।

‘टेलिफोन र बिद्युत उपलब्ध गराउन सडक पहिलो आवस्यकता रहेछ, त्यसका लागि काम भैरहेको छ’ ढोरपाटन नगरपालिकाका प्रमुख देव कुमार नेपालीले भने, ‘प्राविधिक टोलीले छिटै काम थालिदिए हुन्थ्यो ।’ सवारी साधन गएमा मात्रै उपकरण र सामग्री लैजान सकिने भएकोले ढिलाई भएको शर्माको भनाई छ । टेलिफोन अभावमा बाढीपहिरो पीडितले आफ्नै आफन्तलाई सूचना दिनसमेत नपाएको गुनासो गरेका छन् ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com