फाइल तस्बिर। सौजन्य : राजन काफ्ले/प्रधानमन्त्रीको स्वकीय सचिवालय
काठमाण्डौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको आज बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ। पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार उक्त बैठक अब आइतबार बिहान ११ बजे पेरिसडाँडामा बस्नेछ।
भोलि मनाइने संविधान दिवसको तयारीमा मन्त्रीहरू व्यस्त हुनु पर्ने भएकाले आजको बैठक स्थगित गरिएको बताइएको छ। सचिवालय सदस्य ईश्वर पोखरेल उपप्रधान तथा रक्षा मन्त्री र रामबहादुर थापा ‘बादल’ गृह मन्त्री छन्।
तत्कालीन माओवादी केन्द्रको केन्द्रीय कार्यालय रहेको पेरिसडाँडामा पहिलो पटक नेकपा सचिवालय बैठक बस्न लागेको हो। यसअघिका प्राय: सबै सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै आएका थिए।
पछिल्लो समय अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच ओलीले सरकार र प्रचण्डले पार्टी चलाउने सहमति भएपछि पार्टी बैठक पेरिसडाँडामा डाकिएको हो।