Home फोटो फिचर पर्वतका सबै पालिकाहरूको अन्तिम नतिजा

पर्वतका सबै पालिकाहरूको अन्तिम नतिजा

by ईलालटिन
0 comment

कुश्मा नगरपालिका–
पर्वतको कुश्मा नगरपालिकाको नगर प्रमुखमा गठबन्धन दलको तर्फदेखि नेपाली काँग्रेसका उम्मेदवार रामचन्द्र जोशी विजयी भएका छन् । जोशीले नेकपा एमालेका गणेश शर्मा पौडेललाई ७ सय ९८ मतान्तरले जितेका हुन् । निर्वाचित जोशीले ९ हजार ८ सय ४९ मत ल्याउँदा शर्माले ९ हजार ५१  मत ल्याएका छन् । निर्वाचित जोशी कुश्मा नगरपालिकाको संस्थापक मेयर समेत हुन् । उनको यो दोस्रो कार्यकाल हो । उपप्रमुखमा भने नेकपा एमालेकी स्वस्थानी रिजालले बाजी मारेकी छिन् । गठबन्धन दलबाट उपप्रमुखमा उठेका माओवादी नेता शङ्कर गिरी ८ सय १० मतले पछि परेका हुन् । निर्वाचित रिजालले ९ हजार ९२ मत ल्याउँदा गिरीले ८ हजार २ सय ८२ मत ल्याएका छन् । २०७४ को स्थानीय चुनावमा पनि यस नगरपालिका काँग्रेसले नै नेतृत्व गरेको थियो ।

फलेवास नगरपालिका–
पर्वतको अर्को नगरपालिका फलेवास नगरपालिकामा पनि नेपाली काँग्रेसका गंगाधर तिवारी नगरप्रमुखमा विजयी बनेका छन् । गठबन्धन दलबाट उठेका तिवारीले नेकपा एमालेका उम्मेदवार पदमपाणी शर्मालाई पराजित गरेका हुन् । निर्वाचित तिवारीले ७ हजार ७ सय मत ल्याउँदा संस्थापक नगरप्रमुख समेत रहेका शर्माले चाहिँ ६ हजार ३ सय ३८ मत ल्याएका छन् । २०७४ को स्थानीय चुनावमा पनि तिवारी र शर्माबिच प्रतिस्पर्धा रहेको थियो । त्यो बेला भने एमालेका शर्मा नगर प्रमुख बन्न सफल भएका थिए । त्यसतै उपप्रमुखमा पनि गठबन्धन दलबाट उठेकी माओवादी नेतृ शोभा क्षेत्री विजयी बनेकी छिन् । उनले आफ्नी प्रतिद्वन्द्वी नेकपा एमालेकी मन्जु अधिकारीलाई हराएकी हुन् । अधिकारी फलेवास नगरपालिकाकी संस्थापक उपमेयर हुन् । निर्वाचित क्षेत्रीले ६ हजार ३ सय २७ मत ल्याइन् भने अधिकारीले ६ हजार ५७ मत ल्याएकी छन् ।

पैयुँ गाउँपालिका–
पर्वतको पैयुँ गाउँपालिकामा नेपाली काँग्रेसले अध्यक्ष पद जित्न सफल भएको छ । हिजो दिउँसो आएको नतिजा अनुसार पैयुँ गाउँपालिकामा नेपाली काँग्रेसका तोरण मल्ल ठकुरी विजयी बनेका हुन् । उनले नेकपा एमालेका महेन्द्र श्रेष्ठलाई पराजित गरेका हुन् । निर्वाचित ठकुरीले ३ हजार ८ सय २४ मत ल्याउँदा प्रतिस्पर्धी श्रेष्ठले चाहिँ ३ हजार ३ सय ७८ मत ल्याएका छन् । त्यसतै उपाध्यक्षमा भने नेकपा एमालेकी यामकुमारी रानाले जितेका छिन् । उनले काँग्रेसकी जानकी प्रधानलाई पराजित गरेकी हुन् । विजयी रानाले ३ हजार ७ सय ७७ मत ल्याउँदा प्रधानले चाहिँ ३ हजार ४ सय ५८ मत ल्याएकी छिन् । २०७४ को स्थानीय चुनावमा यस गाउँपालिका काँग्रेसले जितेको थियो ।

बिहादी गाउँपालिका–
पर्वतको बिहादी गाउँपालिकाको पनि नतिजा सार्वजनिक भएको छ । गठबन्धन दलबाट उम्मेदवार बनेका प्रविन गुरुङ अध्यक्षमा विजयी बनेका छन् । उनले नेकपा एमालेका ओम कुँवरलाई पराजित गरेका हुन् । गुरुङले ३ हजार ४ सय ६९ मत ल्याउँदा कुँवरले चाहिँ २ हजार ९ सय ३७ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा भने नेकपा एमालेकी उम्मेदवार मिना कुमारी शर्मा तिवारीले ३ हजार २ सय २७ मत पाएर विजयी बनेकी छिन् । उनका प्रतिस्पर्धी माओवादीका सन्त बहादुर गुरुङले ३ हजार ५० मत पाएका छन् । २०७४ को स्थानीय तहको चुनावमा भने यस पालिकाको नेतृत्व नेकपा एमालेले गरेको थियो ।

जलजला गाउँपालिका–
पर्वतको जलजला गाउँपालिकामा गठबन्धन दलबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका राजु प्रसाद आचार्य अध्यक्षमा विजयी बनेका छन् । उनले नेकपा एमालेका लाल बहादुर अधिकारीलाई हराएका हुन् । निर्वाचित आचार्यले ५ हजार ६ सय ५७ मत ल्याउँदा प्रतिस्पर्धी अधिकारीले ४ हजार १ सय ८४ मत ल्याएका छन् । त्यसतै उपाध्यक्षमा पनि गठबन्धन दलकै माओवादी उम्मेदवार दीपक आचार्यले नेकपा एमालेकी सुनिता बरुवाललाई पराजित गरेका छन् । उनले ४ हजार ७ सय ९२ मत ल्याउँदा बरुवालले ४ हजार ७ सय १५ मत ल्याएकी छन् ।

महाशिला गाउँपालिका–
पर्वतको महाशिला गाउँपालिकाको नतिजा सार्वजनिक भएको छ । पालिका अध्यक्षमा नेकपा एमालेका ईश्वरी प्रसाद भुसाल र उपाध्यक्षमा एमालेकी मनसुवा विक विजयी भएकी छिन् । काँग्रेसका अशोक उचै ठकुरीलाई निर्वाचित भुसालले ४ सय ४७ मतान्तरले जितेका छन् । उनले २ हजार ७ सय ५३ मत ल्याउँदा काँग्रेसका ठकुरीले २ हजार ३ सय ६ मत ल्याएका छन् । यस्तै उपाध्यक्षमा गठबन्धनतर्फका समाजवादी उम्मेदवारी बिराज हमालले १ हजार ९ सय ६९ मत ल्याउँदा एमालेकी विकले २ हजार ७ सय ६ मत ल्याएर विजयी भएकी हुन् ।

मोदी गाउँपालिका–
पर्वतको मोदी गाउँपालिकामा नेकपा एमालेका उम्मेदवारहरू विजयी बनेका छन् । अध्यक्षमा हिरादेवी शर्मा र उपाध्यक्षमा विमल लामिछानेले जित हात पारेका हुन् । गठबन्धन दलका माओवादी उम्मेदवार गुप्त बहादुर हमाललाई एक हजार ३ सय ३९ मतले हराउँदै शर्माले जित सुनिश्चित गरेकी हुन् । शर्माले ६ हजार १९ मत ल्याएकी छिन् भने हमालले ४ हजार ६ सय ८० मत ल्याएका छन् । उपाध्यक्षमा गठबन्धनकै नेपाली काँग्रेसका उम्मेदवार रामबहादुर प्रसाईँलाई पराजय गर्दै लामिछाने पालिकाको उपाध्यक्ष बन्न सफल भएका छन् । लामिछानेले ६ हजार ३ सय ३ मत ल्याउँदा प्रसाईँले ४ हजार ६ सय ५४ मत ल्याएका छन् ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com