काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले लिखत रजिस्ट्रेसन प्रारम्भ भएको शतवार्षिकी आजदेखि तीन दिनसम्म विशेष कार्यक्रम गरी मनाउँदै छ । वि.सं. १९७९ साल वैशाख १ गतेबाट सुरु भएको लिखत रजिस्ट्रेसन पारित भएको औपचारिक रूपमा एक सय वर्ष पुरा भएको अवसरमा भोलि विशेष कार्यक्रमको आयोजना गरिने भएको हो । शतवार्षिकीका अवसरमा २०७८ साल चैत्र ३० गतेदेखि २०७९ साल वैशाख २ गतेसम्म मन्त्रालय, भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभाग अन्तर्गत सबै भूमिसुधार, मालपोत कार्यालयहरू र नापी कार्यालयहरूमा विशेष कार्यक्रम गरी मनाइँदै छ ।
कार्यक्रमबारे जानकारी दिन आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले संविधानमा व्यवस्था भएअनुसार भूमिहीन दलितहरूलाई लालपुर्जा वितरणलाई विशेष प्राथमिकतामा राखेर सिन्धुलीको दुधौलीमा रहेका मुसहर बस्तीबाट लालपुर्जा वितरणको काम सुरु गरिएको जानकारी दिए । मन्त्री श्रेष्ठले नयाँ वर्षको दिनमा मनाउन लागिएको शतवार्षिकी तथा नयाँ वर्षले भूमिसम्बन्धी सम्पूर्ण समस्या समाधान गरी संविधानमा व्यवस्था भए अनुसार नागरिकको हक प्राप्तिको अभियान सफल हुने विश्वास र शुभकामना समेत व्यक्त गरे । लिखत रजिस्ट्रेसन प्रारम्भ भएको शतवार्षिकीको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा भोलि अपराह्न ४ बजे राष्ट्रिय सभागृहमा विशेष समारोहको आयोजना गरिएको छ । रातोपाटी ।