काठमाडौं । नेपाली सेनाले अफ्रिकी राष्ट्र कंगोमा केही दिनअघि वीरगति प्राप्त गरेका सैनिक प्युठ अनिल गुरुङप्रति अन्तिम सम्मान अर्पण गरेको छ । गुरुङको शव मंगलबार काठमाडौं ल्याइएको थियो । यही चैत २२ गते कंगोमा विद्रोही समूहले चलाएको गोली लागी उनको मृत्यु भएको छ ।
छाउनीस्थित वीरेन्द्र अस्पतालमा आयोजित श्रद्धाञ्जली तथा अन्तिम सम्मान अपर्ण कार्यक्रममा प्रधान सेनापति प्रभुराम शर्माले सम्मान स्वरुप उनको पार्थिव शरीरमा नेपाली सेनाको झण्डा ओढाई अन्तिम श्रद्धाञ्जली स्वरुप फूलमाला अर्पण गरेका थिए । -रक्षा सचिव किरणराज शर्माले फूलमाला चढाई अन्तिम श्रद्धाञ्जली अर्पण गरेको नेपाली सेनाले जनाएको छ । सो अवसरमा संयुक्त राष्ट्रसंघको तर्फबाट नेपालका लागि राष्ट्रसंघका आवासीय संयोजक रिचार्ड होवार्डले गुरुङको पार्थिव शरीरमा राष्ट्रसंघको झण्डा ओढाई सम्मान प्रकट गरेका थिए ।