स्याङ्जा। शनिबार पोखरामा कोरोना संक्रमणले मृत्यु भएका स्याङ्जाका ८५ वर्षिया वृद्ध दमका रोगी थिए । घरबाट बाहिर ननिस्केको महिनौ भयो । उनलाई भेट्न–देख्न आउनेले पनि नजिकबाट कहिल्यै भेटेनन् । सधैंको बिरामी जस्तै । स्थायी घर पुतलीबजार नगरपालिका–१४ भए पनि उनी छोराबुहारीसँग वडा नं. १ मा रहेको घरमा बस्थे । एकमात्रै छोरा, तिनै छोराबुहारी र नातीनातिनाले हेरचाह गर्र्थे उनलाई ।
भदौ २० गते एक्कासी दम बढ्यो । बुबालाई असहज भएपछि उनले जिल्ला अस्पताल स्याङ्जामा पु¥याए । त्यहाँका चिकित्सकहरुले खासै चासो दिएर उनलाई हेरेनन् । बरु पोखरा लैजान सुझाए । ४८ वर्षका छोरा ८५ वर्षिय बुबालाई लिएर पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुगे । भदौ २१ गते अस्पताल पुगेका ८५ वर्षिय बृद्धको सोही दिन कोरोनाको जाँच भयो । उनमा कोरोना संक्रमण पुष्टि भएपछि सोही दिनदेखि आईसियुमा राखेर उपचार थालियो । सँगै आएका छोराको २२ गते स्वाब संकलन भयो र रिपोर्ट पोजनेटिभ नै आयो ।
अस्पतालमा आईसियुमा रहेका बाबुलाई चिकित्सकको भरमा छोडेर उनलाई गाउँकै आईसोलेसन जानुपर्ने भयो । आफन्तलाई बाहिरी रुपमा हेरचाह गरिदिन आग्रह गरेर अस्पतालका चिकित्सककै सल्लाहमा उनी स्याङ्जाको कालिका सामुदायीक अस्पताल हेलुको आईसोलेसनमा गए । शनिबार बाबुको मृत्यु खबर आउँदासम्म पनि उनी आईसोलेसनमै छन् । उनको दोस्रो पटकको जाँच भएको छैन् । ‘मृतकको नत ट्राभल हिष्ट्री छ न कसैसँगको सम्पर्क’ पुतलीबजार नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख विष्णु प्रसाद काफ्ले भन्छन्– ‘अहिले उहाँको सम्पर्कका व्यक्तिको खोजी भैरहेको छ ।’
एकमात्रै छोरा आईसोलेसनमा रहेकाले मृतकको काजकिरयाका लागि समस्या भएको छ । ‘आईसोलेसनमा रहेको मान्छेलाई कसरी किरिया राख्नु’ नगरप्रमुख सिमा कुमारी क्षेत्रीले भनिन् ‘दाजुभाई सल्लाह गरेर कुनै भाईलाई किरिया बसाल्ने कुरा हुँदैछ ।’ परिवारमा सल्लाह गरेर आईतबार मात्रै किरिया सुरु गर्ने पारिवारिक स्रोतले जनाएको छ । वृद्ध बाबुको उपचारमा जाँदा आँफै संक्रमित भएका ४८ वर्षिय ती पुरुष विक्षिप्त अवस्थामा छन् । मृतककी श्रीमतीको भने धेरै पहिला मृत्यु भैसकेको र परिवारका अन्य सदस्यको कोरोना जाँचको काम चलिरहेको स्वास्थ्य शाखाले जनाएको छ । ढोरपाटन