काठमाडौं । नेपाली कांग्रेसले उम्मेदवारलाई टिकट दिने संसदीय समिति तत्काल गठन गर्न निर्देशन दिएको छ। यस्तै तत्काल कुनै निर्णय लिनुपरे छलफलबाट लिन कार्यसम्पादन समिति गठन गर्न कांग्रेसले तल्ला समितिलाई निर्देशन दिएको छ। कांग्रेसले अनुशासन समिति पनि गठन गर्न भनेको छ। यी समितिहरू विधानअनुसार पार्टी महाधिवेशन भएको छ महिनाभित्र गठन गरिसक्नुपर्ने हो। तर स्थानीय चुनाव मुखैमा आएकोले पार्टी चलायमान बनाउन विधानअनुसारका सबै समिति गठन गर्न कांग्रेसले निर्देशन दिएको छ।
उपसभापति तथा निर्वाचन परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काको अध्यक्षतामा बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले विधानअनुसार गठन गर्नुपर्ने सबै समिति गठन गर्न निर्देशन दिने निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए। कांग्रेसले केन्द्रमा का-र्यसम्पादन समिति गठन गरे पनि संसदीय समिति र अनुशासन समिति गठन गरेको छैन। प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाको भारत भ्रमणबाट फर्केपछि मात्रै ती समितिहरू गठन गरिने कांग्रेसले जनाएको छ। हालै बसेको केन्द्रीय समिति बैठकले निर्वाचन परिचलान र प्रचारप्रसार समिति मात्रै गठन गरेर अनुशासन र संसदीय समिति गठनलाई पछि धकेलेको थियो।
साथै कांग्रेसले प्रदेश सभापतिहरूको नेतृत्वमा पनि निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरेको छ। कांग्रेसले स्थानीय आवश्यकता हेरेर सत्तारूढ गठबन्धनका दलहरूसँग चुनावी तालमेल गर्ने निर्णय पनि गरेको थियो। वैशाख ३० मा हुने स्थानीय चुनावमा अधिकांश ठाउँ एक्लै जित्ने देखिए पनि गठबन्धनलाई सँगै लैजाने कांग्रेस केन्द्रीय समितिले निष्कर्ष निकालेको थियो।बिहीबार बालुवाटारमा बसेको सत्तागठबन्धन बैठकले पनि चुनावसम्म गठबन्धनलाई कायमै राख्ने निर्णय गर्दै प्रदेश, जिल्ला र पालिकास्तरमा दलका प्रतिनिधि रहने संयन्त्र बनाई कुन ठाउँमा कुन पार्टीको कस्तो अवस्था छ भन्ने प्रतिवेदन पठाउन आग्रह गर्ने निर्णय गरेको थियो।सेतोपाटी ।