काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई संशोधन र परिमार्जन गरेर अनुमोदन गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको स्थायी कमिटीको बैठकले एमसीसीलाई आवश्यकता अनुसार संशोधन र परिमार्जन गरेर पारित गर्ने निर्णयसमेत स्थायी समिति बैठकले गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।
उनका अनुसार के संशोधन र परिमार्जन गर्ने भन्ने विषयमा वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको समितिको सुझावका आधारमा काम हुने बताए।
त्यस्तै श्रेष्ठका अनुसार चैत २५ गतेदेखि ३० गतेसम्म काठमाडौंमै महाधिवेशन गर्ने निर्णय बैठकले गरेको हो । महाधिवेशनको तयारीका सम्बन्धमा छलफलका लागि २०७७ कात्तिक १५ गतेदेखि १७ गतेसम्मका लागि केन्द्रीय समिति बैठक बोलाइएको छ ।
प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओलीले बिहीबारको बैठकको प्रारम्भमै धारणा राखेका थिए । ओलीले देशी र विदेशी शक्तिले पार्टी फुटाउन चाहेको तर त्यसलाई आफूहरुले असफल पारेको प्रष्ट पारेका थिए ।
बिहीबारको स्थायी समिति बैठकमा १३ जना स्थायी समिति सदस्यले धारणा राखेका छन् । नेताहरुको विचार सुनेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकको अन्तिममा धारणा राखेका थिए ।
आजको बैठकसँगै असार १० गतेबाट सुरु भएको नेकपा स्थायी कमिटी बैठक सम्पन्न भएको छ ।
निर्णयका मुख्य बुँदा
–पार्टी एकताको ऐतिहासिक महत्वलाई आत्मसाथ गर्दै पार्टीलाई अझ बढी सुदृढ गरेर अगाडि बढाउने संकल्प,
–पार्टीलाई विधि र पद्धतिमा सञ्चालन गर्ने कुरामा दृढतापूर्वक अगाडि बढ्ने र विगतमा भएका निर्णय कार्यान्यन गर्ने निर्णय।
‘अध्यक्षको कार्यविभाजन केपी शर्मा ओलीले सरकारको प्रभावकारी सञ्चालन गर्ने र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यकारी अधिकारसहित पार्टीका कामको नेतृत्व गर्नेगरी कार्यविभाजन,
–सरकारका दैनिक काममा पार्टीले हस्तक्षेप नगर्ने तर राष्ट्रिय महत्वका निर्णय लिनुपर्दा पार्टीको मार्ग निर्देशनलाई ध्यानमा राखेर काम गर्ने, -अन्नपूर्णपोष्टबाट