१९ वर्षअघि आजैको दिन अर्थात् सेप्टेम्बर ११ मा अमेरिकाको न्युयोर्कस्थित ट्विन टावर तथा भर्जिनियामा रहेको पेन्टागनमा अलकायदा नामक आतंकवादी संगठनले दुईवटा विमान ठोकाउँदा करीब तीन हजार मानिसको ज्यान गएको थियो ।
२१औं शताब्दीको आरम्भमै भएको उक्त घटनाले अमेरिकाको राजनीतिक तथा सामाजिक जीवनमा परिवर्तन ल्यायो भने पश्चिम एसियाको भूराजनीतिमा उथलपुथल ल्याइदियो ।
आक्रमणका योजनाकार ओसामा बिन लादेनलाई सील भनिने अमेरिकी जलसेनाका विशेष फौजका सैनिकहरूले पाकिस्तानको अबोटाबादमा हत्या गरेको पनि नौ वर्ष बितिसकेको छ ।
ट्विन टावर आक्रमणको दूरगामी प्रभाव संसारभरि परेको छ । विशेषगरी पश्चिम एसियामा अमेरिकी नेतृत्वको सैन्य कारवाहीका कारण अनेकौं विद्रोह जन्मिए र युद्धहरू आरम्भ गरिए जसको शान्तिपूर्ण समाधान अहिलेसम्म हुन सकेको छैन ।
सेप्टेम्बर ११ को आक्रमणपछि अमेरिकाले आतंकवादविरुद्धको युद्ध (वार अन टेरर) चलायो । उक्त युद्ध तथा त्यसका प्रतिक्रियाका कारण लाखौं मानिसले ज्यान गुमाए भने दशौं लाखौं मानिस थालथलो छोड्नका लागि बाध्य भए ।

ब्राउन विश्वविद्यालयले गरेको एक अध्ययनले आतंकवादविरुद्धको युद्धका कारण कम्तीमा पनि पाँच लाख मानिसको मृत्यु भएको अनि ३ करोड ७० लाख मानिस विस्थापित भएको देखाएको छ ।
ट्विन टावर आक्रमणको एक महिना पनि नबित्दै अमेरिकी सैनिकहरूले अलकायदालाई ध्वस्त पार्न अफगानिस्तानमा आक्रमण गरे । त्यहाँको तालिबान सरकारले लादेन र अलकायदाका लडाकूहरूलाई शरण दिएकाले अमेरिका तालिबानलाई पनि निर्मूल पार्न तम्सियो ।
अलाकायदा लडाकूविरुद्धको कारवाही गरेर ९/११ को पीडाको बदला लिनेसम्म त ठीकै थियो तर अमेरिकाले राष्ट्रनिर्माण तथा विद्रोह दमनको अभिभारा ग्रहण गर्न थालेपछि भने परिस्थिति बिग्रँदै गयो । आतंकवादविरुद्धको युद्धका क्रममा अफगानिस्तानको संस्कृतिमा आघात पुग्ने काम गर्यो । आनुपातिक रूपमा आवश्यकताभन्दा बढी शक्तिप्रयोग गरेकाले अमेरिकी सैनिकहरूविरुद्ध प्रतिकार भए । साम्राज्यहरूको चिहान भनिने अफगानिस्तानले इतिहासकै सबभन्दा शक्तिशाली अमेरिकी साम्राज्यलाई पनि बाँकी राखेन । फलस्वरूप अमेरिकाले शुरू गरेको युद्ध अहिलेसम्म पनि टुंगिएको छैन ।
अफगानिस्तान आक्रमणको दुई वर्ष पनि नबित्दै तत्कालीन राष्ट्रपति जर्ज डब्ल्यू बुशले इराकमा युद्ध शुरू गरे । सेप्टेम्बर ११ को आक्रमणमा इराकका राष्ट्रपति सद्दाम हुसेनको कुनै पनि संलग्नता नभएपनि उनले आफ्नो देशमा आम विनाशक हतियार उत्पादन गरेको आरोप लगाउँदै युद्ध शुरू गरिएको थियो । तर पछि खोज्दै जाँदा इराकमा त्यस्तो हतियारै थिएन ।
सद्दाम हुसेनको पतनपछि इराक पूर्ण रूपमा अस्तव्यस्त भयो । अमेरिकीहरूले इराकको जटिल सांस्कृतिक, धार्मिक तथा राजनीतिक आयामहरूलाई बुझ्न नसकेकाले आफूअनुकूलको शासक स्थापना गरिदिँदा विद्रोहका लहर उठे ।
यदाकदा मात्र हुने गरेका आत्मघाती बम आक्रमणहरू त्यसपछि दिनहुँजसो हुन थाले । युद्धले ल्याएको अस्थिरताबाट इस्लामिक स्टेट जस्तो क्रूर र आततायी अतिवादी समूह जन्मियो र त्यसमा सद्दाम हुसेनका बफादारहरू पनि बाक्लै थिए ।
त्यसलाई अमेरिका नेतृत्वको सैन्य गठबन्धनले परास्त त गरेको छ तर त्यसका अवशेषहरू अझै पनि इराक र सिरियामा सक्रिय छन् अनि युरोपका विभिन्न मुलुकमा सानातिना आक्रमण गरिरहेका छन् । सिरिया, लिबिया लगायतका मुलुकमा युद्ध अझै पनि चलिरहेर अशान्ति कायम रहनु त्यही सेप्टेम्बर ११ को दूरगामी परिणाम हो ।
सेप्टेम्बर ११ को आक्रमणले अमेरिकी राजनीतिक चिन्तक स्यामुएल पी हन्टिङटनको सभ्यताको द्वन्द्व सिद्धान्तलाई पुष्टि गर्दै क्रिस्चियन र इस्लाम धर्मलाई आमनेसामने ल्याइदियो । आक्रमणपछि अमेरिका तथा साझेदार मुलुकहरूमा मुसलमानहरूमाथिको दमन ह्वात्तै बढेर गयो ।
त्यसै सन्दर्भमा तत्कालीन बुश प्रशासनले क्युबाको ग्वान्तानामो बेमा रहेको कुख्यात थुनाकेन्द्रमा शत्रुपक्षका लडाकूहरूलाई पठाउन थाल्यो । उनीहरूमाथि त्यहाँ चरम यातना दिइयो र न्यायमा पहुँचबाट वञ्चित गरियो ।
उक्त थुनाकेन्द्र बन्द गराउनका लागि अनेकौैं आवाज उठिरहेको भए पनि बुश प्रशासनले त्यसलाई बेवास्ता गर्यो । यसले अमेरिकाको छविमा दाग लगाएको आलोचकहरूको कथन छ । उनीपछिका राष्ट्रपति बाराक ओबामाले पहिलो कार्यकालमा त्यसलाई बन्द गराउने प्रतिबद्धता व्यक्त गरे पनि सफल भएनन् तर थुनुवाहरूको संख्या चाहिँ निकै घटाए । बहालवाला राष्ट्रपति डोनल्ड ट्रम्पले चाहिँ कठोर दृष्टिकोण अपनाउँदै त्यहाँ विदेशी कैदीहरू राख्ने बताएका छन् ।
आतंकवादविरुद्धको युद्धले अमेरिकालाई के फाइदा पुर्यायो भनी कसैले पनि भन्न सक्दैन । हुन त पश्चिम एसियाका निरंकुश शासकहरूलाई फालेर एउटा विशाल खिलाफत बनाउने र त्यसको सर्वेसर्वा आफैं बन्ने बिन लादेनको सपना थियो । इस्लामिक स्टेटले पछि त्यसलाई आंशिक रूपमा भए पनि साकार पार्न खोजेको थियो ।
अमेरिकाले आफूलाई जोखिम हुन सक्ने अनुमान गरी त्यस्तो खिलाफत बन्न नदिनका लागि आतंकवादविरुद्धको युद्ध शुरू गरेको हो भन्ने मत पनि पाइन्छ । तर लाखौं मानिसको ज्यान जाने गरी गरिएको ‘अन्त्यहीन युद्ध’ले अमेरिकाको कुनै पनि तर्कलाई जायज ठहर्याउन सक्दैन ।
विदेशका कहिल्यै नटुंगिने युद्धमा अल्झिएर अमेरिकाले आफ्नै नागरिकलाई खाद्य सुरक्षा तथा सम्मानजनक जीवनस्तर दिन नसकेको विभिन्न आँकडाले देखाएका छन् । सामान्यजनको जीवनस्तर उकास्नुको साटो हातहतियार र सेनामा खर्च बढाएकाले अमेरिकी समाजमा संस्थापन पक्षप्रतिको रोष डोनल्ड ट्रम्प जस्ता लोकरञ्जनवादीका रूपमा विस्फोटित भएको देखिन्छ ।
हुन पनि सेप्टेम्बर ११ आक्रमणपछि अमेरिकाले रक्षा बजेट ह्वात्तै बढाएको छ । सन् २००२ मा लगभग ७३८ अर्ब डलर रक्षा बजेट रहेकोमा सन् २०११ मा आइपुग्दा ४३ अर्ब डलर पुगेको थियो । सन् २०१९ को रक्षा बजेट ६८६.१ अर्ब डलर छ जुन अन्य मुलुकको भन्दा कैयौं गुणा बढी हो ।
यति विशाल बजेट भएपछि अमेरिकाले त्यसको व्यवस्थापनका लागि भए पनि नयाँ युद्ध गर्नुपर्ने हुन्छ । त्यसैले चीनविरुद्ध अमेरिकाले युद्ध शुरू गर्नसक्ने सम्भावना देखाइरहेको छ । दक्षिण चीन सागर र पूर्वी चीन सागर शायद नयाँ युद्धक्षेत्र हुन सक्छन् । जोन पिल्गरले बनाएको वृत्तचित्र ‘द कमिङ वार अन चाइना’ ले यही दाबी गरेको छ ।
सेप्टेम्बर ११ ले सभ्यतागत द्वन्द्व निम्त्याएको थियो भने अब पुनः पहिलो शीतयुद्धको जस्तो विचारधारात्मक द्वन्द्व शुरू हुने हो कि भनी विश्लेषण गरिन थालेका छन् । -लोकान्तरबाट