काठमाडौं । मानव अधिकार तथा शान्ति समाजको २४ औं राष्ट्रिय परिषद् बैठक फागुन २७ र २८ गते कपिलवस्तुको वाणगंगामा सम्पन्न भएको छ । विभिन्न जिल्लाबाट २०० भन्दा बढी अधिकारकर्मीहरुको सहभागिता रहेको राष्ट्रिय परिषद् बैठकले गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षाः सबैको अधिकार भन्ने आह्वानसहित आठ वटा प्रस्ताव पारित गरेको छ । जसअनुसार समाजले न्यायालय शुद्धीकरणका लागि विशेष पहल गर्न आग्रहसहित निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा विरुद्ध संसदमा दर्ता भएको महाभियोग प्रस्ताव पारित गरि निजलाई पदच्युत गर्न माग गरेको छ ।
यस्तै बैठकले रुसलाई तत्काल सेना फिर्ता गरी युद्ध रोक्न र युक्रेनी जनता तथा युक्रेनमा रहेका सबै मानिसको जीवन रक्षाको लागि योगदान गर्न आह्वान गरेको छ । एक निष्पक्ष संस्थाको रुपमा मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय कार्यसमिति र जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको विभिन्न निकायमा संलग्नता सीमा सम्बन्धमा पनि राष्ट्रिय परिषद् बैठकले प्रस्ताव पारित गरेको छ ।
बैठकको नागरिक अगुवा डा देवेन्द्रराज पाण्डेले उद्घाटन गरेका थिए भने समाजका संस्थापक सभापति कृष्ण पहाडीसहित नागरिक अगुवाहरुले मन्तव्य राखेका थिए । यस्तै फागुन २८ गते बिहान सांकेतिक तवरमा वाणगंगा नदीमा सफाई कार्यक्रमका साथै राष्ट्रिय परिषद् बैठकको सेरोफेरोमा रक्तदान, शान्ति र्याली, शान्ति दीप प्रज्वलनसहित आधा दर्जन कार्यक्रम आयोजना गरिएको थियो । रातोपाटी ।