कोरोना संक्रमण नियन्त्रण गर्न सेना परिचालन गर्नुपर्ने बहस भइरहेका बेला प्रधानसेनापति पूर्णचन्द्र थापाले सरकारले संकटकाल घोषणा गरे परिचालन हुने बताएका छन्।
‘राष्ट्रलाई संकटकाल हो भन्ने लाग्छ भने त्यो अवस्थामा नेपाली सेना परिचालन हुन्छ’, थापाले भने, ‘सेना जहिले सहयोगी भूमिकामा बस्नुपर्छ भन्ने नेपाली सेनाको धारणा हो।’
नागरिक सर्वोच्चतालाई कदर गर्दै आएको नेपाली सेनाको दायित्व सरकारको आदेश पालना गर्नु रहेको प्रधानसेनापति थापाले बताए।
प्रधानसेनापतिको जिम्मेवारी सम्हालेको तेस्रो वर्ष प्रवेश गरेको अवसरमा आज बुधबार जंगीअड्डामा सम्पादकहरुसँग अन्तरक्रिया गर्दै थापाले सेनाको दायित्वबारे व्यख्या गरेका हुन्।

२०७५ भदौ २४ गतेदेखि प्रधानसेनापतिको जिम्मेवारी सम्हालेका थापाले दुई वर्षे कार्यकाल पूर्णरुपमा सफल भएको दाबी गरे र अब नेपाली सेनाको सुदृढीकरणमा जोड दिने आफ्नो योजना सुनाए।