Home समाचार बाघ गणनालाई राखिएका स्वचालित क्यामेरा हराए

बाघ गणनालाई राखिएका स्वचालित क्यामेरा हराए

by ईलालटिन
0 comment

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाका लागि राखिएका स्वचालित चार वटा क्यामेरा हराएका छन् । निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत नरेन्द्र अर्यालका अनुसार कृष्णपुर नगरपालिकाको दोमिल्लामा दुई, डडेल्धुराको आलिताल र चिरकिट्टेमा एक/एक गरी चार वटा क्यामेरा हराएका छन् । “बाघ गणनाका लागि राखिएका ठाउमा क्यामेरा फेला परेका छैनन्”, उनले भने, “कसले कुन प्रयोजनका लागि निकालेर लगेको भन्नेबारे अनुसन्धान भइरहेको छ ।” उनका अनुसार निकुञ्ज क्षेत्रभित्रै एउटा क्यामेरा हात्तीले फुटालेको र अर्को राखेको ठाउँभन्दा ५० मिटर पर बाघले तानेर छाडेको भेटिएको छ ।

बाघ गणनाका लागि निकुञ्जले त्यसको आसपास क्षेत्रमा स्वचालित क्यामेरा जडान गरेको हो । शुक्लाफाँटा–लालझाडी–जोगबुढा कम्प्लेक्समा दुई किलोमिटर लम्बाइ र दुई किलोमिटर चौडाइ भएको २६० वटा ग्रीडमा विभाजन गरी बाघ गणनाको कार्य अगाडि बढाइएको थियो ।  निकुञ्जले ५२० वटा स्वचालित क्यामेरा जडान गरी बाघ गणनाको कार्य गरेको छ । निकुञ्जअन्तर्गतका चाँदमारी, शुक्लाफाँटा, बेलडाँडी र हिरापुर गरी चार स्थानमा, डिभिजन वन कार्यालय कञ्चनपुरअन्तर्गत तिलकेनी, बेदकोट, दोमिल्ला र डाडाजाई गरी चार र डडेल्धुराका आलिताल, नाउला र चिरकिटेमा गरी ११ स्थानमा क्याम्प राखेर बाघ गणनाको कार्य गरिएको छ ।

जम्मा २० क्याम्पमा ७० प्राविधिक र पाँच वटा हात्ती खटाएर गणना कार्य गरिएको अधिकृत अर्यालको भनाइ छ । माघ २९ देखि २१ दिनसम्म बाघ गणनाको कार्य गरिएको हो । बाघ गणनाका लागि राखिएका स्वचालित क्यामेराले खिचेका फोटो ग्रिडअनुसार छुट्याउने कार्यमा प्राविधिकको टोलीले काम अगाडि बढाएको छ । अधिकृत अर्यालले भने, “फोटो छुट्याउने कार्य सम्पन्न भएपछि विश्लेषणका लागि विभागमा पठाउँछौँ ।”फोटो विश्लेषणका आधारमा विभागले बाघको सङ्ख्या यकीन गरी सार्वजनिक गर्ने उनले बताए । गत वर्षको तुलनमा बाघको उपस्थिति उत्साहजनक रहेको उनको भनाइ छ । गत वर्षको गणनामा निकुञ्जमा १७ बाघ देखा परेका थिए । निकुञ्जमा बाघ गणना सन् २००९ देखि हुँदै आएको छ । सरकारले सन २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर पु¥याउने लक्ष्य लिएको छ । शुक्लाफाँटा ३०५ वर्गमिटर क्षेत्रफलमा फैलिएको छ । निकुञ्ज, थोरै क्षेत्रफलमा धेरै बाघ भएको क्षेत्रकारुपमा समेत परिचित छ । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com