काठमाडौं । नोबेल मेडिकल कलेजमा अध्ययनरत् पीडित विद्यार्थीहरूले आफूहरूलाई तत्काल अन्य सार्वजनिक शिक्षण संस्थामा स्थानान्तरण गर्न माग गरेका छन्। शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गरी विद्यार्थीहरूले नोबेलले चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्कभन्दा अतिरिक्त शुल्क असुल गर्न खोजेकाले स्थानान्तरण गर्नुपर्ने माग राखेका हुन्। पत्रकार सम्मेलनमा उनीहरूले नोबेलले लिइरहेको अतिरिक्त शुल्क आफूहरूलाई मान्य नहुने बताए।
पत्रकार सम्मेलनमा बोल्दै विद्यार्थीहरूले उक्त मेडिकल कलेजमा आफूहरूको भविष्य सफल नहुने, जीवन सुरक्षित नरहने र त्यहाँ राज्यको नीति, नियम र निर्देशन पालन नहुने भएकाले आफूहरूलाई अन्यत्र सार्वजनिक शिक्षण संस्थामा स्थानान्तरण गरिनुपर्ने माग गरे। उनीहरू गत मंसिर २८ गतेदेखि निरन्तर आन्दोलनरत् छन्। -कार्यक्रममा बोल्दै पीडित विद्यार्थी श्रद्धा मैनालीले तीन महिनादेखि जारी रहेको आफूहरूको आन्दोलन भौतिक र शैक्षिक सुरक्षाको विषय बनेको बताइन्। उनले नोबेल मेडिकल कलेजबाट विद्यार्थीहरूमाथि मात्र नभएर अभिवाभकसम्ममा फोन जान थालेको बताइन्।
पत्रकार सम्मेलनमा आन्दोलनरत् पीडित विद्यार्थी तमन्ना कार्कीले प्रतिवेदन प्रस्तुत गरेकी थिइन्। अर्की पीडित विद्यार्थी सदिक्षा आर्चायले आफूहरूले हारगुहार गर्दा पनि राज्यले सम्बोधन नगरेको आरोप लगाइन्। ‘हामी महिनासम्म सडकमा आउँदा पनि चिकित्सा शिक्षा आयोग किन चुप लागेर बसेको छ?,’ उनले प्रश्न गरिन्। पीडित विद्यार्थी दिपेश पौडेलले आफूहरूको माग सरकारले कुनै पनि हालतमा पूरा गर्नुपर्ने बताए। -कार्यक्रममा बोल्दै नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघका पूर्वमहामन्त्री बलदेब तिमल्सिनाले चिकित्सा शिक्षाजस्तो गम्भीर विषयका विद्यार्थीहरू सडकमा आएको तीन महिना हुँदासम्म समस्याको समाधान नभएको भन्दै आक्रोश पोखे।
उनले संघर्षरत् विद्यार्थीहरुको आवाज सरकारले सुन्नुपर्ने बताए। विद्यार्थीहरूको माग पूरा गराउनको लागि आफूहरूले पहल गरिरहेको उनले बताए। तिमल्सिनाले राज्य गैरजिम्मेवार बनेको बताए।नेकपा (एस) को विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष सुदेश प-राजुलीले आफूहरू पीडित विद्यार्थीहरूको आन्दोलनमा सँगसँगै रहेको बताए।यस्तै, उनले नोबेल सञ्चालक सुनिल शर्मा मेडिकल शिक्षामा सबैभन्दा हानीकारण तत्व भएको आरोप लगाए। ‘तर, अहिलेसम्म सरकारले उनलाई कारबाही गर्नु नसक्नु लज्जाको विषय हो,’ उनले भने। नेकपा (माओवादी) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका उपत्यका विशेष प्रदेश समिति सदस्य सन्जीव रेग्मीले आफूहरू हिजो र आज पनि विद्यार्थीहरूसँगै रहेको भन्दै भोलिका दिनमा सँगै रहने प्रतिवद्धता व्यक्त गरे।

नेकपा क्रान्तिकारी माओवादीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी अध्यक्ष हरिकृष्ण गजुरेलले ८२ दिनसम्म विद्यार्थीहरुको समस्या समाधान गर्न राज्यले तत्परता नदेखाएको भन्दै सरकार तत्काल गम्भीर हुन जरुरी रहेको बताए।नेपाल कम्युनिष्ट पार्टीनिकट विद्या-र्थी संगठन अखिल (क्रान्तिकारी) का उपाध्यक्ष नरेन्द्र विश्वकर्माले नोबेल सञ्चालकले देशको शासन सत्ता चलाइरहेको भन्दै सरकारले यस्तो लाचारी देखाउनु दुःखद् भएको बताए। -उनले नोबेल मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज र मणिपाल मेडिकल कलेजले विद्यार्थीहरूमाथि लुट गरिरहेको बताए। नोबेलबाट पीडित विद्यार्थीहरू केही दिनयता माइतीघर मण्डलामा बसेर विरोध गर्दै आएका छन्। सेतोपाटी ।